रुपन्देही खबर , ७० पटक हेरिएको
परासी,वैशाख ३०
पश्चिम नवलपरासीमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा १६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका अनुसार जिल्लाबाट सहभागी कुल ४ हजार ५०५ जना विद्यार्थीमध्ये २ हजार ५७० जना अर्थात् ५७.०५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने ४२.९५ प्रतिशत विद्यार्थी नन–ग्रेडेड भएका छन्।
नतिजाअनुसार ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी संख्या ३ सय ८६ रहेको छ। यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ७.१९ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८ सय ९० जना रहेका छन्।
त्यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने ५ सय ३७ जना तथा २ देखि २.४ जीपीए ल्याउने ३२ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । जिल्लामा यस बर्ष १२३ वटा विद्यालय परिक्षामा सहभागी भएका थिए । गत बर्ष ५८.६४ प्रतिशत ग्रेडेड हुँदा ४१.३६ प्रतिशत नन—ग्रेडेड भएका थिए ।
यस वर्ष जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थी संख्या गतबर्ष भन्दा ११ जना वढी पनि ठूलो संख्यामा विद्यार्थी नन–ग्रेडेड भएको तथ्यांकले शैक्षिक गुणस्तर सुधारमा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको सरोकारवालाहरूले बताएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ । बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार १ गतेदेखि ९ गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२६-०५-१३ , समय : ०९:२४:५२ , २ घन्टा अगाडि