रुपन्देही खबर , ६४ पटक हेरिएको
मणिग्राम,वैशाख ३१
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा अध्ययनरत बी.बी.एस. पहिलो वर्षका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता तथा पेशागत बैंकिङ् सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई बैंकिङ् क्षेत्र, वित्तीय अनुशासन तथा नेतृत्व विकासबारे व्यवहारिक जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थी परामर्श तथा रोजगार एकाइका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले उद्घाटन मन्तव्य व्यक्त गर्दै अहिलेको प्रतिस्पर्धात्मक समयमा शैक्षिक ज्ञानसँगै व्यवहारिक तथा पेशागत सीप आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई समयअनुसार आफूलाई सक्षम र दक्ष बनाउँदै लैजान यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
उहाँले कक्षाकोठामा सिकाइने सैद्धान्तिक ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्न वित्तीय साक्षरता अपरिहार्य रहेको धारणा राख्दै बैंकिङ् प्रणाली, बचत संस्कार, लगानी, आर्थिक अनुशासन तथा पेशागत तयारीका विषयमा प्रारम्भिक चरणदेखि नै विद्यार्थी सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षण दिँदै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख मानव संसाधन अधिकृत प्रवास राईले बैंकिङ् क्षेत्र केवल जागिरको माध्यम मात्र नभई व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धिको महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । उहाँले आत्मविश्वास, अनुशासन, सकारात्मक सोच, प्रभावकारी सञ्चार कला र निरन्तर सिकाइको अभ्यासबाट विद्यार्थीहरूले सफल करिअर निर्माण गर्न सक्ने धारणा राख्नुभयो ।
राईले वर्तमान समयमा बैंकिङ् तथा वित्तीय क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूले अध्ययनसँगै व्यवहारिक अनुभव, प्रस्तुतीकरण क्षमता र प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले वित्तीय साक्षरताले व्यक्तिलाई आर्थिक रूपमा सक्षम, जिम्मेवार र आत्मनिर्भर बनाउन मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले बैंकिङ् क्षेत्रको अवसर, चुनौती, पेशागत तयारी, अन्तर्वार्ता सीप, कार्यसंस्कृति तथा करिअर विकासका विषयमा जिज्ञासा राखेका थिए । प्रशिक्षकहरूले विद्यार्थीका प्रश्नहरूको उत्तर दिँदै भविष्यको करिअर निर्माणमा आवश्यक मार्गदर्शन प्रदान गरेका थिए ।
विद्यार्थी परामर्श तथा रोजगार एकाइको आयोजना तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको परामर्श सहजीकरणमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, आत्मविश्वास र पेशागत सोच विकास गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।
प्रकाशित मिति: २०२६-०५-१४ , समय : १३:४०:५६ , २ घन्टा अगाडि