उर्मिला यादव यात्री , ७८ पटक हेरिएको
भैरहवा, जेठ १
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगरले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नारायण प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा बिहीबार भैरहवामा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । संस्थामा आबद्ध २६ वटा सदस्य विद्यालयमध्ये करिब १९ वटा बिद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

जसमा एआरडि न्यु मोडल सेकेन्डरी स्कुलका अरजित बिश्वकर्मा प्रथम, सिद्धार्थ ज्ञान ज्योती इंगलिस बोडिडंग स्कुल का एम डी आरमान द्धितीय र युरोकिड्सका युवन जैसवाल तृतीय भएका छन । त्यस्तै गरी प्रतियोििगतामा न्यु इरा सेकेण्डरी स्कुलका मारियम मेहबिस र सनसाइन सेकेण्डरी स्कुलका रिद्धिमा कटवाल सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि उपाध्यायले विद्यार्थीहरूमा लुकेको सिर्जनशील क्षमता उजागर गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले चित्रकलामार्फत बालबालिकाले आफ्नो सोच, भावना र कल्पनालाई कलात्मक ढंगले प्रस्तुत गर्न सक्ने उल्लेख गर्दै अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकासमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।उहाँले विद्यालय शिक्षालाई केवल पाठ्यपुस्तकमै सीमित नराखी सिर्जनात्मक र व्यवहारिक बनाउन आवश्यक रहेको बताउँदै कला, साहित्य, खेलकुद तथा सांस्कृतिक गतिविधिमा विद्यार्थीको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै गरी प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले संस्थाले प्रत्येक महिनामा विद्यार्थी, शिक्षक, समाज तथा प्रधानाध्यापकहरूका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनु भएको छ । उहाँले चित्रकला प्रतियोगिता आयोजना गर्नुको उद्देश्यबारे जानकारी दिँदै हरेक मानिसभित्र विभिन्न प्रकारका प्रतिभा लुकेर रहेको उल्लेख गर्नुभयो । ती प्रतिभालाई उजागर गर्दै विद्यार्थीहरूको दृष्टिकोण, सिर्जनशीलता र आत्मविश्वासको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।

मल्लिकले गणित र विज्ञानले विद्यार्थीको तार्किक क्षमता विकास गर्ने, भाषाले भाषिक क्षमता अभिवृद्धि गर्ने तथा खेलकुदले शारीरिक क्षमता मजबुत बनाउने भए पनि चित्रकलाले विद्यार्थीहरूको सोच्ने शैली, हेर्ने दृष्टिकोण र रचनात्मक क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कला र सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीहरूले समाज, वातावरण, संस्कृति तथा समसामयिक विषयप्रति आफ्नो धारणा अभिव्यक्त गर्न सक्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका जिल्ला सहसचीव गोकुल पोख्रेलले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले चित्रकला, खेलकुद, साहित्य तथा सांस्कृतिक गतिविधिले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
पोख्रेलले वर्तमान समयमा विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी सिर्जनात्मक र व्यवहारिक शिक्षातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयप्रति अपनत्व र जिम्मेवारीको भावना विकास गर्न मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँले प्याब्सनले विद्यार्थीहरूको समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न रचनात्मक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने बताउनुभयो ।

यस्तैगरी यूरो किड्स भैरहवाकी प्रिन्सिपल तथा आर्ट कम्पिटिसन कोर्डिनेटर प्रतिष्ठा चालिसे मल्लले प्रतियोगिताको विषय “मेरो सपना, मेरो स्कुल” रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विषयअन्तर्गत बालबालिकाहरूले आफ्नो विद्यालयप्रतिको भावना, कल्पना र भविष्यमा देख्न चाहेको आदर्श विद्यालयको चित्रण गरेका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सिर्जनात्मक शैलीमा विद्यालयको वातावरण, शिक्षण पद्धति, खेलमैदान, प्रविधिमैत्री कक्षा तथा हरियालीयुक्त परिसरलाई चित्रमार्फत प्रस्तुत गरेका थिए ।

उहाँले यस्ता प्रतियोगिताले बालबालिकाको सिर्जनशील क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको भावना र सोचलाई अभिव्यक्त गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको र उनीहरूले अत्यन्त आकर्षक तथा सन्देशमूलक चित्रहरू प्रस्तुत गरेको उहाँको भनाइ थियो ।

उहाले कला र रङहरूले बालबालिकाको जीवनलाई रंगीन बनाउनुका साथै उनीहरूलाई भावनात्मक तथा सामाजिक रूपमा जोड्न मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो । रङ र चित्रकलामार्फत बालबालिकाको मानसिकता तथा व्यक्तित्व बुझ्न पनि सहज हुने उहाको भनाइ छ ।

चित्रकला प्रतियोगिताकी निर्णायक सुमित्रा रानाले बालबालिकाहरूको सिर्जनात्मक क्षमता र कलात्मक प्रस्तुति निकै प्रशंसनीय रहेको बताउनुभयो ।उहाँले “मेरो सपना, मेरो स्कुल” विषयअन्तर्गत विद्यार्थीहरूले आफ्नो कल्पना, भावना र विद्यालयप्रतिको आत्मीयतालाई चित्रमार्फत अत्यन्त सुन्दर ढंगले अभिव्यक्त गरेको उल्लेख गर्नुभयो । साना उमेरमै बालबालिकाहरूले रंग संयोजन, विषयवस्तुको प्रस्तुति तथा कलात्मक सोचमा देखाएको परिपक्वता प्रेरणादायी रहेको उहाँको भनाइ थियो । रानाले चित्रकला केवल मनोरञ्जनको माध्यम मात्र नभई बालबालिकाको भावनात्मक, बौद्धिक र सिर्जनात्मक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा सोच्न, आफ्नो कल्पनालाई अभिव्यक्त गर्न तथा आत्मविश्वासका साथ प्रस्तुत हुन प्रेरणा दिने धारणा राख्नुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सहभागी अधिकांश विद्यार्थीहरूले आफ्नो सपनाको विद्यालयलाई हरियालीयुक्त, प्रविधिमैत्री, अनुशासित र सिर्जनात्मक वातावरणसहित चित्रण गरेका थिए, जसले बालबालिकाको सकारात्मक सोच र उज्ज्वल भविष्यप्रतिको दृष्टिकोण झल्काएको थियो । प्रतियोगितामा १९ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२६-०५-१५ , समय : ११:०४:०१ , २ घन्टा अगाडि