सिद्धार्थनगरमै उत्कृष्ट नतिजा ल्याउने मोर्डन पब्लिकद्वारा एसईई विद्यार्थीलाई सम्मान तथा स्वागत

उर्मिला यादव यात्री , ७८  पटक हेरिएको

भैरहवा, जेठ ३

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामै सर्वोत्कृट नतिजा ल्याउन सफल मोर्डन पब्लिक स्कुल सिद्धार्थनगर ८ शिवपथ भैरहवाले उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । उत्कृष्ट नतिजा ल्याएर विद्यालयको समेत गौरब बढाएको भन्दै उत्र्तीण विद्यार्थीलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

सोही अवसरमा नयाँ शैक्षिक सत्र २०८३ मा विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत समेत गरिएको छ । एसइईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल मोर्डन पब्लिक स्कुलले शनिबार भैरहवामा भब्य समारोहकाबीच १७ जना विद्यार्थीलाई सम्मान गर्दै उज्वल भविष्यको शुभकामना व्यक्त गरेको हो ।

उक्त विद्यालयबाट एसइईमा सहभागी छात्र आर्यन चौरासियाले ४.० जीपिए ल्याउँदै उच्चतम उपलब्धि हासिल गर्नु भएको छ । परीक्षामा सहभागि कूल १७ विद्यार्थी मध्ये एक जनाको ४ जीपिएसहित १५ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् भने भने अन्य बिद्यार्थीले ए ग्रेड ल्याएर उत्कृष्ट अंकका साथ शतप्रतिशत बिद्यार्थी उत्र्तीण हुन सफल भएको विद्यालयका प्रधानाध्यापक अमित यादवले जानकारी दिनुभयो ।

उहाले विद्यार्थीको अथक मेहनत र अनुशासन, शिक्षकको समर्पण, अभिभावकको विश्वास तथा आधुनिक शिक्षण पद्धतिको प्रभावकारी प्रयोगले उत्कृष्टता हासिल गर्न सफल भएको बताउनुभयो । यस्तै गरी विद्यालयले २०८२ सालको विएलइ परीक्षामा ४ जिपिए ल्याउन सफल आयुशी चौरासिया सहित शतप्रतिशत उत्कृष्ट हुने विद्यार्थी तथा कक्षा ९ मा नया भर्ना भएका विद्यार्थी तथा अभिभावक हरु सहित स्वागत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेश्नल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले विद्यालयले नाम जस्तै मोर्डन पब्लिक गुणस्तरीय शिक्षा प्रदान गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षासँगै संस्कार, अनुशासन र सीपमूलक शिक्षालाई पनि समान महत्व दिनुपर्नेमा जोड दिँदै रुपन्देहीको शैक्षिक विकासमा निजी विद्यालयहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

बन्जाडेले पछिल्लो समय भैरहवाका निजी विद्यालयहरूले शैक्षिक गुणस्तरमा उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि अब विद्यार्थीले काठमाण्डौ वा बुटवल धाउनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भैरहवाका निजी विद्यालयहरूले आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक तथा प्रविधिमैत्री वातावरणमार्फत उत्कृष्ट नतिजा हासिल गर्दै अभिभावकको विश्वास जित्न सफल भइरहेको धारणा राख्नुभयो ।

यस्तै गरी मोडर्न पब्लिक स्कुलका सह–प्राचार्य मुकेश यादवको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक राहुल यादव, सूर्यदेव माध्यमिक विद्यालयका प्राचार्य भरत गिरी लगायतका वक्ताहरूले विद्यार्थीहरूको उत्कृष्ट उपलब्धिले विद्यालयलाई मात्रै नभई सम्पूर्ण सिद्धार्थनगरकै शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको बताउनुभयो । उहाँहरूले गुणस्तरीय शिक्षा, अनुशासन, निरन्तर मेहनत र शिक्षक–अभिभावकबीचको समन्वयकै परिणामस्वरूप विद्यालयले ऐतिहासिक सफलता हासिल गर्न सकेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीलाई सक्षम, संस्कारित र प्रतिस्पर्धी नागरिकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वि.स. २०५३ सालमा स्थापना भएको यस “विद्यालयको ३० वर्षको इतिहासमा पहिलो पटक यस्तो नतिजा आएको बिद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा कायम राख्न शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २०२६-०५-१७ , समय : ११:२८:५४ , २ घन्टा अगाडि