११ ओभरमै लक्ष्य पूरा गर्दै रुपन्देहीले जित्यो लुम्बिनी बुद्ध कप

रुपन्देही खबर , ५४  पटक हेरिएको

भैरहवा, जेठ २१

एन्जिला पाठकको उत्कृष्ट अर्धशतकीय इनिङ्स र रुपन्देहीको आक्रामक ब्याटिङ प्रदर्शनको मद्दतले प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता ‘लुम्बिनी बुद्ध कप’ को उपाधि रुपन्देहीले जितेको छ। सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा दाङलाई सहज रूपमा पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो।

सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको दाङले निर्धारित २० ओभरमा ९५ रनको योगफल तयार गरेको थियो। दाङका ब्याटरहरूले सुरुआती चरणमा केही आकर्षक सट खेले पनि रुपन्देहीका बलरहरूको कसिलो प्रदर्शनका कारण ठूलो स्कोर बनाउन सकेनन्।

९६ रनको लक्ष्य पछ्याएको रुपन्देहीले सुरुदेखि नै आक्रामक रणनीति अपनायो। ओपनर एन्जिला पाठकले उत्कृष्ट ब्याटिङ गर्दै ५१ रनको शानदार पारी खेलिन्। उनको इनिङ्समा आकर्षक चौका र दर्शकलाई रोमाञ्चित बनाउने सटहरू समावेश थिए। अन्य ब्याटरहरूले पनि आवश्यक साथ दिँदा रुपन्देहीले मात्र ११ ओभरमै लक्ष्य पूरा गर्दै एकतर्फी जित दर्ता गर्यो।

उपाधिसँगै रुपन्देहीले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता दाङले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि एन्जिला पाठकको दबदबा रह्यो। उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेबापत ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। साथै प्रतियोगिताभर उत्कृष्ट ब्याटिङ गरेबापत ‘बेस्ट ब्याटर’ र समग्र प्रदर्शनका आधारमा ‘प्लेयर अफ द सिरिज’ को उपाधिसमेत जितिन्। प्रतियोगिताकी उत्कृष्ट बलरको पुरस्कार सिता गिरीले प्राप्त गरिन्।

समापन समारोहलाई सम्बोधन गर्दै सन्तोष पाण्डे ले महिला खेलकुदको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । उहाले प्रतिभावान खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र प्रोत्साहन उपलब्ध गराउँदै महिला क्रिकेटको दायरा अझ फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । महिला क्रिकेटको विस्तारले राष्ट्रिय टोलीका लागि सक्षम र दक्ष खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास थियो।

सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका प्रमुख हरि बहादुर विष्टले खेलकुदले समाजलाई सकारात्मक दिशा प्रदान गर्ने भएकाले महिला सहभागिता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए। खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक एकताको विकास हुने उहाको भनाइ थियो।

क्रिकेट संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष विनयराज भण्डारीले प्रतियोगिताले प्रदेशभर महिला क्रिकेटको आधार विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी वर्षहरूमा अझ व्यवस्थित, व्यापक र प्रतिस्पर्धात्मक ढंगले प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको जानकारी दिनु भयो ।

सामाजिक विकास डिभिजन कार्यालयका लेखा अधिकृत टोलप्रसाद पोखरेलले खेलकुद क्षेत्रमा गरिने लगानीले समाज र राष्ट्रलाई दीर्घकालीन लाभ पुर्‍याउने उल्लेख गर्दै महिला खेलाडीहरूको क्षमता अभिवृद्धि तथा अवसर विस्तारका लागि सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भयो ।

समापन कार्यक्रममा इस्तियाक अहमद खान, क्रिकेट संघ रुपन्देहीका अध्यक्ष हरि थापा, क्यानका पूर्व सदस्य प्रशान्त विक्रम मल्ल, राष्ट्रिय क्रिकेट प्रशिक्षक विनय शाही, रुपन्देही क्रिकेट संघका सल्लाहकार विनय ज्ञवालीलगायत खेलकर्मी, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार ‘लुम्बिनी बुद्ध कप’ ले प्रदेशमा महिला क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभाको खोजी, पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। प्रतियोगिताले महिला खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको भन्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जनाइएको छ।

प्रकाशित मिति: २०२६-०६-०४ , समय : ०९:४१:१९ , २ घन्टा अगाडि