रुपन्देही खबर , ३२ पटक हेरिएको
काठमाडौं, असोज २७
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो। यससँगै नेपालले लिग–२ मा आफ्नो प्रदर्शन सुधार गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना कायम राखेको छ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा समेटियो। ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ओमानले ४१ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो। त्यसपछि कप्तान शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई केही सम्हाल्ने प्रयास गरेका थिए। तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा ओमान फराकिलो हार बेहोर्न बाध्य भयो। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन–तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालको इनिङ्समा रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाएपछि नेपालको स्कोर प्रतिस्पर्धात्मक बनेको थियो। त्यस्तै अर्जुन कुमालले ४० रन बनाउँदा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे। नेपाली ब्याटरले विभिन्न चरणमा उपयोगी योगदान दिएपछि नेपालले ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो। ओमानका बलरमध्ये शाह फैसल, शकील अहमद र करण सोनावाले समान दुई–दुई विकेट लिए।
यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले आइतबार क्यानडालाई २४ रनले पराजित गरेको थियो। लगातार दुई खेल जितेसँगै नेपालले शृङ्खलामा आफ्नो लय कायम राखेको छ। लिग–२ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ। ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा रहेको छ।
लिग–२ को शीर्ष चारमा पर्ने सम्भावना गुमाइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु प्रमुख लक्ष्य बनेको छ। त्यसका लागि नेपालले अंकतालिकाको शीर्ष छभित्र रहनुपर्नेछ। ओमानविरुद्धको जितले नेपाललाई आफ्नो स्थान सुरक्षित राख्ने अभियानमा महत्त्वपूर्ण सहयोग पुगेको छ।
प्रकाशित मिति: २०२६-१०-१३ , समय : १८:४९:५२ , १ घन्टा अगाडि