उर्मिला यादव यात्री , ८२ पटक हेरिएको
मर्चवार, जेठ २४
एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका कोटहीमाई गाउँपालिका भित्रका १६० जना विद्यार्थीलाई युवा नेता तथा समाजसेवी राहुल यादवले सम्मान गर्नुभएको छ । शनिबार कोटहीमाई गाउँपालिका–५ मझगावामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्र, डायरी तथा उत्कृष्ट विद्यार्थीलाई साइकल प्रदान गर्दै सम्मान गरिएको हो ।

समाजसेवी राहुल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक विद्यालयतर्फबाट गाउँपालिकामै सर्वाधिक अंक ल्याउने बोगडी माध्यमिक विद्यालयका अरुण यादव तथा संस्थागत विद्यालयतर्फबाट उत्कृष्ट अंक ल्याउने पब्लिक भिजन स्कुलका अखिलेश बनियालाई साइकलसहित प्रमाणपत्र र डायरी प्रदान गरी विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राहुल यादवले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको बताउनुभएको छ । उहाँले सही मार्गदर्शन, मेहनत, अनुशासन र लगनशीलताले विद्यार्थीलाई सफलताको शिखरसम्म पु¥याउने उल्लेख गर्दै उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले शिक्षित र सक्षम पुस्ताले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राख्दै संस्कारसहितको गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो । युवा नेता यादवले आगामी दिनमा पनि गाउँपालिकाभित्र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई निरन्तर सम्मान तथा प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने योजना समेत रहेको सार्वजनिक गर्नुभयो।
यस्तै गरी कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै एन–प्याब्सन रुपन्देहीका जिल्ला सचिव तथा सिद्धार्थनगर नगरपालिका शिक्षा समितिका सदस्य अमित यादवले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै अध्ययनप्रति थप उत्साह र जिम्मेवारीबोध जगाउने बताउनुभयो। उहाँले शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको सम्मान र प्रोत्साहनले अन्य विद्यार्थीलाई पनि राम्रो नतिजा हासिल गर्न प्रेरित गर्ने उल्लेख गर्नुभयो ।
साथै शिक्षा क्षेत्रमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्दै विद्यार्थीको क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षाको विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले समाजसेवी राहुल यादवले व्यक्तिगत पहलमा आयोजना गर्नुभएको यस्तो कार्यक्रम अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि यस्ता रचनात्मक अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

यस्तैगरी कार्यक्रममा बोल्दै गाउँपालिकामै सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट अंक ल्याउने बोगडी माध्यमिक विद्यालयका अरुण यादवले आफ्नो मेहनत, लगनशीलता र निरन्तर अध्ययनको प्रतिफल स्वरूप उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो। उहाँले आफूले प्राप्त गरेको सम्मानले थप जिम्मेवारी र प्रेरणा प्रदान गरेको उल्लेख गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै सफलताका लागि सहयोग गर्ने अभिभावक, शिक्षक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो।

त्यसैगरी संस्थागत विद्यालयतर्फबाट गाउँपालिकामै उत्कृष्ट अंक ल्याउने पब्लिक भिजन स्कुलका अखिलेश बनियाले स्थानीय तहले गर्नुपर्ने विद्यार्थी सम्मान तथा प्रोत्साहनको कार्य समाजसेवी राहुल यादवले व्यक्तिगत पहलमा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने संस्कृतिले अध्ययनप्रति थप उत्साह र हौसला प्रदान गर्ने बताउँदै आफू सम्मानित हुन पाउँदा अत्यन्त खुसी लागेको धारणा राख्नुभयो। साथै आगामी दिनमा पनि निरन्तर मेहनत गर्दै शिक्षा क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यस्तैगरी बोगडी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त त्रिपाठीले समाजसेवी राहुल यादवले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्नु अत्यन्त सकारात्मक र प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले यस्ता सम्मान तथा प्रोत्साहनका कार्यक्रमले विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीलाई समेत मेहनत गर्न, राम्रो नतिजा ल्याउन र आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुन प्रेरित गर्ने बताउनु भयो ।

प्रधानाध्यापक त्रिपाठीले विद्यार्थीप्रति राहुल यादवको सोच र दृष्टिकोण निकै सकारात्मक रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा उहाँले देखाएको चासो र योगदान अनुकरणीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा राहुल यादवले अवसर पाए समाज र शिक्षाक्षेत्रको विकासका लागि अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले विद्यार्थीको सफलता शिक्षक, अभिभावक र स्वयं विद्यार्थीको संयुक्त प्रयास, मेहनत तथा समर्पणको परिणाम भएको उल्लेख गर्दै सबै पक्षको सहकार्यबाट मात्रै गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताउनुभयो। साथै विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै जनता माध्यमिक विद्यालय, मर्चवारी–५ ओडवलियाका शिक्षक रामसरन यादवले विद्यार्थीहरूको सफलताले विद्यालय, अभिभावक तथा समुदायलाई गौरवान्वित बनाएको बताउनुभयो । उहाले समाजसेवी राहुल यादवले गर्नु भएको कार्यक्रम मर्चवारमा नै ऐतिहासिक कार्यक्रम भएको बताउनु भएको छ । उहाँले सम्मान तथा प्रोत्साहनले विद्यार्थीमा थप आत्मविश्वास बढ्ने र उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभयो।

यस्तै गरी मर्यादपुर माध्यमिक विद्यालयका शिक्षक पप्पु यादवले शिक्षा नै व्यक्तित्व विकास र समाज रूपान्तरणको आधार भएको बताउँदै विद्यार्थीहरूले अनुशासन, नैतिकता र लगनशीलतालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले समाजसेवी राहुल यादवले आयोजना गर्नुभएको विद्यार्थी सम्मान कार्यक्रम सम्पूर्ण समुदायका लागि प्रेरणादायी र मार्गदर्शक उदाहरण बनेको उल्लेख गर्नुभयो।

शिक्षक यादवले हालसम्म कोटहीमाई गाउँपालिकाले संस्थागत रूपमा यस्ता उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने पहल गर्न नसकेकोप्रति दुःख व्यक्त गर्दै स्थानीय तहले पनि आगामी दिनमा प्रतिभावान विद्यार्थीलाई पहिचान, सम्मान र प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
यस्तैगरी श्रीराम माध्यमिक विद्यालय, कोटहीमाई–२ का प्रधानाध्यापक कृष्णप्रसाद पन्थले यस्ता सम्मान तथा प्रोत्साहनका कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्ने बताउँदै शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थाको पहललाई सबैले साथ र समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले मर्चवार क्षेत्रमा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई व्यक्तिगत पहलमा सम्मान गर्ने कार्य आजसम्म कसैले नगरेको उल्लेख गर्दै समाजसेवी राहुल यादवले गरेको यो प्रयास अत्यन्त प्रशंसनीय र अनुकरणीय रहेको बताउनुभयो। उहाँले विद्यार्थीको मेहनत र उपलब्धिको कदर गर्दै सम्मान गर्ने संस्कृतिले शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
प्रधानाध्यापक पन्थले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्नुका साथै शिक्षा क्षेत्रप्रति समाजको सकारात्मक चासो र जिम्मेवारीसमेत बढाउने धारणा राख्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
यस्तै गरी श्री कृषक आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकानन्द त्रिपाठीले विद्यार्थीहरूलाई लक्ष्यप्रति केन्द्रित रहँदै निरन्तर अध्ययन र मेहनत गर्न सुझाव दिनुभयो । उहाँले सम्मानले विद्यार्थीलाई भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

समाजसेवी नारायण कश्यपको स्वागत मन्तव्य रहेको कार्यक्रममा मिउज मिडिया प्रालिका रजनीकान्त चौधरीले शुभकामना मन्तब्य राख्दै शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको प्रोत्साहनका लागि आयोजित कार्यक्रमको प्रशंसा गर्नुभयो। उहाँले गाउँपालिकाभित्रका प्रतिभावान विद्यार्थीलाई सम्मान गर्ने कार्यले समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

कार्यक्रम संयोजक मुकेश यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२६-०६-०७ , समय : १०:१८:१४ , ३ घन्टा अगाडि