नवदुर्गा माध्यमिक विद्यालयको अध्यक्षमा पुनः गोविन्द यादव,शैक्षिक सुधारमा जोड दिने प्रतिबद्धता

रुपन्देही खबर , ५८  पटक हेरिएको

भैरहवा, असार ७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ दोगहरास्थित श्री नवदुर्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः गोविन्द यादव चयन हुनुभएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको अभिभावक भेलाले यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको सदस्यहरूमा मोहम्मद आलम मिर अन्सारी, रिन्की गुप्ता र चिनकी केवट चयन हुनुभएको छ । अभिभावक भेलाले विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो ।

यस्तै भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा विजय पाण्डेलाई चयन गरेको छ । संघका सदस्यहरूमा मनोज प्रजापति, आमिर खान, प्रेम कुमार कोहार, इन्द्रावती केवट, पुनिता गुप्ता र अनिता गुप्तालाई चयन गरिएको छ ।

नव निर्वाचित अध्यक्ष गोविन्द यादवले विद्यालयको जिम्मेवारी पुनः पाएकोमा खुसी व्यक्त गर्दै विद्यालयको शैक्षिक अवस्था थप मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने, शिक्षक तथा अभिभावकबीचको समन्वयलाई प्रभावकारी बनाउने र विद्यालयको भौतिक संरचना सुधारमा प्राथमिकता दिने बताउनुभयो ।

अध्यक्ष यादवले विद्यालयको विकास केवल व्यवस्थापन समितिको प्रयासले मात्र सम्भव नहुने भन्दै शिक्षक, अभिभावक, विद्यार्थी तथा समुदाय सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गर्न दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत जान्ह्वी पाण्डेले विद्यालयको गुणस्तरीय शिक्षाका लागि व्यवस्थापन समिति, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बदलिँदो समयअनुसार शिक्षा प्रणालीलाई प्रविधिमैत्री र व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकले निरन्तर निगरानी र सहयोग गर्नुपर्ने बताउँदै नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक पहल गर्दै आएको उल्लेख गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिकाको शिक्षा समिति सदस्य अमित यादवले शिक्षाको विकास समाजको समग्र विकाससँग जोडिएको बताउनुभयो । उहाँले विद्यालयमा अनुशासन, नियमितता र गुणस्तरीय पठनपाठन कायम गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै समाजसेवी सियाराम यादवले विद्यालय समाज परिवर्तनको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई राम्रो शिक्षा दिन सके समाजको भविष्य उज्ज्वल बन्ने उल्लेख गर्दै विद्यालयको विकासमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष मुक्तिनाथ यादव ‘भोला’ले शिक्षा क्षेत्रको विकास वडा कार्यालयको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले विद्यालयको आवश्यकताअनुसार वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडाध्यक्ष यादवले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै शिक्षामा गरिएको लगानी दीर्घकालीन उपलब्धि हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा समाजसेवी रुदल यादव लगायतले पनि विद्यालयको प्रगति र विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।

भेलामा विद्यालयका शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो । नयाँ कार्यसमितिले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको क्षमता विकास र विद्यालयको समग्र उन्नतिका लागि काम गर्ने जनाएको छ ।

प्रकाशित मिति: २०२६-०६-२१ , समय : २१:५८:२० , ३ घन्टा अगाडि