रुपन्देही खबर , ७७ पटक हेरिएको
भैरहवा,असार १०
रुपन्देहीको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड १९ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउपालिकामा आयोजित गाउ सभाको २० औं अधिवेशनले गाउँपालिकाको दीर्घकालीन सोचअनुसार आर्थिक तथा सामाजिक रूपान्तरण गर्दै गरिबी, असमानता र बेरोजगारी न्यूनीकरण गर्ने लक्ष्यसहित बजेट ल्याइएको हो।

मायादेवी गाउँपालिकाको गाउँसभामा गाउँसभा सदस्य तथा वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउपालिका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरी सहित जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

बजेट प्रस्तुत गर्दै पाण्डेले संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट, आन्तरिक आय तथा बैंक मौज्दातसमेतका स्रोतबाट प्राप्त हुने अनुमानित आम्दानीका आधारमा कुल ६२ करोड १९ लाख २५ हजार रुपैयाँ बराबरको बजेट तयार गरिएको जानकारी दिनुभयो।
आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड ४६ लाख, सशर्त अनुदान २० करोड ८६ लाख, समपूरक अनुदान ४० लाख र विशेष अनुदान १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै संघीय राजस्व बाँडफाँटबाट ११ करोड ६५ लाख ८७ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९३ लाख ८८ हजार, सशर्त अनुदान १ करोड ८१ लाख, विशेष अनुदान २० लाख, समपूरक अनुदान ७५ लाख तथा प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ११ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ।
गाउँपालिकाले आन्तरिक राजस्वबाट ३ करोड ५० लाख, बैंक मौज्दातबाट ३ करोड ५० लाख र स्थानीय राजस्व बाँडफाँटबाट ३ करोड रुपैयाँ जुटाउने लक्ष्य लिएको छ।

बजेटमा सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सामाजिक सुरक्षा लगायतका कार्यक्रमका लागि २६ करोड ३३ लाख २३ हजार ४५ रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकासतर्फ सडक, पुल, भवन, सिँचाइ, विद्युतीकरण, तटबन्ध लगायतका योजनाका लागि १५ करोड ७० लाख ३६ हजार रुपैयाँ छुट्याइएको छ।
आर्थिक विकासतर्फ कृषि, पशुपालन, सहकारी, पर्यटन, रोजगार तथा उद्यमशीलता प्रवर्द्धनका लागि ४ करोड ९० लाख ६९ हजार ८ सय ८२ रुपैयाँ विनियोजन गरिएको छ।
कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषक तथ्याङ्क अद्यावधिक, किसान कार्ड वितरण, कृषक समूहमा आधारित कार्यक्रम, कृषि बीमा तथा नवीन प्रविधि प्रवर्द्धनका कार्यक्रम समेटिएका छन्।
सिँचाइ सुविधा विस्तारका लागि गोनाहा सिँचाइ योजनालाई ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भई कृषि उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।
रोजगारी सिर्जना तथा स्वरोजगार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ भने सहकारी क्षेत्रको क्षमता विकास, अनुगमन तथा प्रवर्द्धनका कार्यक्रमसमेत समेटिएका छन्।
गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन, सूचना प्रविधि र संस्थागत विकासलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। गाउ सभाको २० औं अधिवेशनले न्यायिक समिति प्रतिवेदन ,लेखा समितिको प्रतिवेदन र माया देवी गाउपालिकाको बालबालिका सम्बन्धि बिधेयक २०८३ सर्व सम्मतले पारित गरेको छ ।
प्रकाशित मिति: २०२६-०६-२४ , समय : १२:२४:१० , ३ घन्टा अगाडि