ओमसतिया–४ द्वारा किसानलाई कृषि उपकरण वितरण, सिँचाइ र उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा

रुपन्देही खबर , ५८  पटक हेरिएको

भैरहवा, असार १४

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ ले कृषकलाई लक्षित गर्दै कृषि उपकरण वितरण गरेको छ । कृषि उत्पादन वृद्धि तथा किसानको लागत घटाउने उद्देश्यले वडाले अनुदान कार्यक्रमअन्तर्गत पम्पसेट, इलेक्ट्रिक मोटर र चार्जर स्प्रे टंकी वितरण गरेको हो ।

वडाले बिहीबारदेखि सुरु गरेको वितरण कार्यक्रममा स्थानीय कृषकलाई आवश्यक कृषि सामग्री उपलब्ध गराइएको जनाएको छ । कृषि क्षेत्रमा किसानको पहुँच बढाउन र सिँचाइ तथा खेती व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो ।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अखिलेश्वर कुमार पाण्डेका अनुसार वडाले चालु आर्थिक वर्षमा कृषि अनुदानका लागि ९ लाख रुपैयाँ बजेट छुट्याएको थियो । सोही बजेटबाट किसानको आवश्यकता र मागका आधारमा ४० वटा पम्पसेट, ३३ वटा इलेक्ट्रिक मोटर तथा ३० वटा चार्जर स्प्रे टंकी खरिद गरी वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

“कृषकलाई आधुनिक कृषि उपकरणमा पहुँच पु¥याउने र खेतीपातीलाई सहज बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो,” वडाध्यक्ष पाण्डेले भन्नुभयो । परम्परागत रूपमा खेती गर्दै आएका किसानलाई सिँचाइका लागि उपकरण अभाव हुँदा समस्या हुने गरेको छ । विशेषगरी धान, तरकारी तथा अन्य बाली उत्पादन गर्ने किसानलाई समयमै पानी व्यवस्थापन गर्न कठिनाइ हुने गरेको अवस्थामा पम्पसेट र मोटर वितरणले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ओमसतिया–४ मटिअरियाका किसान बरसाती चौधरीले पम्पसेट पाएपछि खेतीपातीमा सहज हुने बताउनुभयो । उहाँका अनुसार यसअघि आफ्नै उपकरण नहुँदा सिँचाइका लागि अरुको भर पर्नुपर्ने अवस्था थियो ।

“आफूसँग पम्पसेट नहुँदा खेतीको समयमा धेरै समस्या हुन्थ्यो । अरुको घरबाट मागेर चलाउनुपर्ने बाध्यता थियो । माग्न जाँदा कहिले बिग्रिएको छ भन्ने, कहिले समय नभएको भन्दै फर्काउने अवस्था आउँथ्यो,” चौधरीले भन्नुभयो ।उहाँले अब आफ्नै उपकरण भएपछि समयमै खेतमा पानी लगाउन सकिने र उत्पादनमा समेत सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का किसान ओमसतिया–४ का परमानन्द यादवले ५० प्रतिशत अनुदानमा इलेक्ट्रिक मोटर पाएपछि खुसी व्यक्त गर्नुभयो । उहाँले कृषि उपकरणको प्रयोगले किसानको मेहनत र खर्च घट्ने बताउनुभयो ।

“मोटर मेसिन पाएपछि सिँचाइमा धेरै सहज हुने भएको छ । स्प्रे टंकीका लागि पनि फारम भरेको थिएँ, तर यसपटक नाम निस्किएन । आगामी दिनमा पाउने आशा छ,” यादवले भन्नुभयो ।

वडाले कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी दिनमा पनि आवश्यकता अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कृषि सामग्री वितरणले साना तथा मध्यम किसानलाई प्रत्यक्ष लाभ पुग्ने र स्थानीय उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कृषि क्षेत्रमा लगानी बढाउँदै किसानलाई प्रविधिसँग जोड्न सके उत्पादन वृद्धि, लागत न्यूनीकरण र स्थानीय अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने किसानहरूको भनाइ छ ।

प्रकाशित मिति: २०२६-०६-२८ , समय : २२:४०:५७ , २ घन्टा अगाडि