रोजगारी गुम्ने चिन्तामा कर्मचारीको आन्दोलन, कोटहीमाई गाउँपालिका कार्यालयमा तालाबन्दी

रुपन्देही खबर , ६५  पटक हेरिएको

भैरहवा, साउन १

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अस्थायी तथा ज्यालादारी कर्मचारीहरूले म्याद नथपिने सूचना जारी भएको विरोधमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। तालाबन्दीका कारण शुक्रबार बिहानदेखि गाउँपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको छ।

प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले बिहीबार जारी गरेको सूचनामा स्वीकृत दरबन्दीबाहेक कार्यरत कर्मचारीहरूको म्याद थप नगरिने उल्लेख भएपछि आक्रोशित कर्मचारीहरूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसँगै कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन्।

विरोधमा उत्रिएका कर्मचारीका अनुसार आफूहरू वर्षौंदेखि गाउँपालिकामा निरन्तर सेवा गर्दै आएको अवस्थामा नयाँ आर्थिक वर्ष सुरु हुनासाथ राति सूचना प्रकाशित गरेर म्याद नथपिने निर्णय सुनाइनु अन्यायपूर्ण भएको हो।

स्वयंसेवक कर्मचारी राकेश पाण्डेयले आफूहरूले लामो समयसम्म गाउँपालिकामा सेवा दिए पनि कुनै पूर्वसूचना वा छलफल नगरी रोजगारबाट वञ्चित गर्ने निर्णय गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो। “यति वर्षसम्म गाउँपालिकामा खटिएर सेवा गर्यौं। तर नयाँ आर्थिक वर्ष सुरु भएसँगै मध्यरातमा सूचना प्रकाशित गरेर हाम्रो म्याद थप नहुने जानकारी दिइयो। अब हामी रोजगारीका लागि कहाँ जाने ?” उहाँले प्रश्न गर्नुभयो।

कर्मचारीहरूले शुक्रबार बिहानदेखि कार्यालय पुगेर प्रशासनिक सेवा अवरुद्ध गर्दै विरोध जनाएका थिए। सम्बन्धित पक्षबाट कुनै पहल नभएपछि तालाबन्दी गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

यता गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले म्याद नथपिने सम्बन्धी सूचनाबारे आफूलाई पूर्वजानकारी नभएको बताउनुभएको छ। उहाँका अनुसार उक्त सूचना जारी गर्नुअघि जनप्रतिनिधिलाई जानकारी गराइएको थिएन भने कार्यपालिकाबाट पनि यस्तो निर्णय भएको छैन।

अध्यक्ष त्रिपाठीले कर्मचारीहरूको रोजगारी र हितलाई ध्यानमा राखेर समस्या समाधानका लागि संवाद र कानुनी प्रक्रियामार्फत आवश्यक पहल गरिने बताउनुभयो। उहाँले कसैलाई पनि अनावश्यक रूपमा बेरोजगार नबनाइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

म्याद थपसम्बन्धी विवादका कारण कोटहीमाई गाउँपालिकामा कर्मचारी र प्रशासनबीच उत्पन्न विवाद समाधान हुन नसके सेवा प्रवाहमा थप असर पर्न सक्ने देखिएको छ।

प्रकाशित मिति: २०२६-०७-१७ , समय : २०:२९:१८ , ३ घन्टा अगाडि