रुपन्देही खबर , ४७ पटक हेरिएको
काठमाडौं,साउन ८
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ वटा वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ। सरकारले गत चैत १३ गते शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजीसम्बन्धी वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएपछि प्राधिकरणले अभियानलाई तीव्र बनाएको हो। विशेषगरी विश्वकप प्रतियोगिताको अवधिमा अनलाइन बेटिङ बढ्ने सम्भावनालाई मध्यनजर गर्दै निगरानी र कारबाही अझ प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासोपछि प्राधिकरणले यसका लागि छुट्टै कार्यदल गठन गरेको छ। कार्यदलका सदस्य तथा प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएसँगै इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिलाई प्राधिकरणमै राखेर बेटिङसँग सम्बन्धित वेबसाइट तथा एपहरू बन्द गर्ने कार्यलाई तीव्रता दिइएको थियो।
महतोका अनुसार आईएसपीसँगको समन्वयमा त्यस्ता वेबसाइट सञ्चालन हुने युआरएल (URL) लाई ‘ब्लक’ गरिन्छ। यति ठूलो सङ्ख्यामा रहेका वेबसाइट एक–एक गरेर खोज्न कठिन हुने भएकाले विभिन्न अधिकारप्राप्त निकायले पहिचान गरेका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा ती साइटहरू बन्द गरिन्छ।
उहाँले एउटा वेबसाइट बन्द गरेलगत्तै अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको बताउनुभयो। त्यसैले नयाँ वेबसाइटको पहिचान गर्न ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी निरन्तर निगरानी तथा ‘हन्टिङ’ गरिने र यसका लागि छुट्टै जनशक्तिसमेत परिचालन गरिएको जानकारी दिनुभयो।
प्राधिकरणले अनलाइन बेटिङ वा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट तथा एपबारे जानकारी भए सर्वसाधारणलाई पनि सूचना उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्लेटफर्ममाथि थप कारबाही अघि बढाइने प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-२४ , समय : १०:०८:५८ , २ घन्टा अगाडि