नवदुर्गा मा.वि.द्वारा बुद्ध सामुदायिक सेवा समाजका नवनिर्वाचित पदाधिकारी सम्मानित

उर्मिला यादव यात्री , ६१  पटक हेरिएको

भैरहवा, साउन १४

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री नवदुर्गा माध्यमिक विद्यालय, दोगहराले बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्र सिद्धार्थनगर–४, ६, १० र ११ को १५औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवको अध्यक्षता तथा समाजसेवी सिद्धिक अलीको प्रमुख आतिथ्यतामा बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष श्रीचन्द जयसवाललाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो । सोही अवसरमा युवा समाजसेवी सिनपा ४ ले पनि प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवले श्री नवदुर्गा माध्यमिक विद्यालय शून्य अवस्थाबाट पुनर्जीवित हुँदै अहिले उल्लेखनीय प्रगति गर्न सफल भएको दाबी गर्नुभयो । उहाँका अनुसार एक समय बन्द हुने अवस्थामा पुगेको विद्यालय विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय समुदायको संयुक्त प्रयासबाट अहिले ६ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने शैक्षिक संस्थाका रूपमा विकसित भएको छ ।

अध्यक्ष यादवले विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा निःशुल्क अध्ययनको व्यवस्था गरिएको जानकारी दिँदै आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि स्थानीय सरकारभन्दा बढी समाजसेवी, सहयोगदाता तथा शुभेच्छुकहरूको सहयोगबाट खानेपानी लगायत पूर्वाधार विकासका काम भइरहेको उल्लेख गर्नुभयो । विद्यालयलाई आधुनिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले केही कक्षाकोठामा कक्षागत पुस्तकालय (क्लासरुम लाइब्रेरी) स्थापना भएको र अन्यमा पनि गर्ने तयारी भइरहेको जानकारी दिँदै यसबाट विद्यार्थीले दैनिक भारी झोला बोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले विद्यालयमा सरकारी दरबन्दी पर्याप्त नभएकाले अंग्रेजी माध्यमको पठनपाठनलाई निरन्तरता दिन निजी स्रोतबाट १० जना शिक्षक नियुक्त गरिएको बताउनुभयो। उहाँले विद्यालयको विकासमा अपेक्षित सहयोग नपाएको गुनासोसमेत गर्दै सिद्धार्थनगर नगरपालिका र वडा नम्बर–४ बाट आवश्यक सहयोग प्राप्त हुन नसकेको आरोप लगाउनुभयो।

उहाँले गरिब तथा विपन्न परिवारका विद्यार्थी पनि आर्थिक रूपमा सम्पन्न परिवारका बालबालिकासरह गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्ने आफ्नो सोच रहेको उल्लेख गर्दै त्यसैअनुसार विद्यालयलाई अघि बढाइएको बताउनुभयो । आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो।

बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्र सिद्धार्थनगर–४, ६, १० र ११ का अध्यक्ष श्रीचन्द जयसवालले विद्यालय तथा युवा समाजसेवी सिद्धार्थनगर–४ ले आफूहरूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सम्मानले सामाजिक सेवामा थप जिम्मेवार बन्न प्रेरणा मिलेको बताउँदै विद्यालय र सामाजिक संस्थाले सञ्चालन गर्ने जनहितका कार्यक्रमहरूमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

यस्तै गरी कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सिद्धिक अलीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले शिक्षा क्षेत्रमा भइरहेको सकारात्मक पहललाई निरन्तरता दिँदै सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । बुद्ध सामुदायिक सेवा समाज र सामुदायिक प्रहरी केन्द्रले सामाजिक सद्भाव, नागरिक सचेतना र समुदाय–प्रहरी साझेदारीका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक दीपेन्द्र कुमार गौडले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधारमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र सहयोगी संस्थाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले विद्यालयमा गुणस्तरीय शिक्षासँगै अनुशासन, नैतिक शिक्षा र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । आगामी दिनमा प्रविधिमैत्री शिक्षण, विद्यार्थीमैत्री वातावरण र शैक्षिक उपलब्धि अभिवृद्धिमा विद्यालय केन्द्रित रहने उल्लेख गर्दै विद्यालयको विकासमा निरन्तर सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नुभएको छ ।


कार्यक्रममा समाजसेवी, स्थानीय अगुवा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्मान कार्यक्रमपछि सहभागीहरूले विद्यालयको भौतिक पूर्वाधार, कक्षाकोठा, पुस्तकालय, पठनपाठनको वातावरण तथा सञ्चालन भइरहेका शैक्षिक गतिविधिको अवलोकन गरेका थिए । सो क्रममा विद्यालयले हालसम्म गरेको शैक्षिक तथा पूर्वाधार विकासबारे विद्यालय प्रशासनले जानकारी गराएको थियो ।

सहभागीहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयले थालेका सुधारका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । विद्यालयले समुदाय, अभिभावक र सामाजिक संघसंस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षा प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा वक्ताहरूले शिक्षा, सामाजिक सेवा र समुदाय–प्रहरी साझेदारीबीचको समन्वयले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२६-०७-३० , समय : २३:२०:०३ , २ घन्टा अगाडि