रुपन्देही खबर , ३२ पटक हेरिएको
मणिग्राम, साउन १६
रूपन्देहीको तिलोत्तमा नगरपालिका–मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा गुरुपूर्णिमाको अवसर पारेर दुई विद्यार्थी समूहले गुरु सम्मान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। रोटर्याक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पस र विद्यार्थी गुणस्तर समूहले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै गुरुजनप्रति सम्मान व्यक्त गर्नुका साथै वातावरण संरक्षणको सन्देश दिएका हुन्।
रोटर्याक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई पुष्पगुच्छा प्रदान गरी सम्मान गरिएको थियो। सम्मान कार्यक्रमसँगै क्याम्पस परिसरमा विभिन्न प्रजातिका विरुवा रोपेर वृक्षारोपण अभियान पनि सञ्चालन गरिएको थियो।
क्लबका अध्यक्ष विष्णुप्रसाद डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भाइस प्रेसिडेन्ट निशा ढकालले गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
यस्तै, विद्यार्थी गुणस्तर समूहले पनि गुरुपूर्णिमाको अवसरमा प्राध्यापक तथा कर्मचारीलाई पुष्पगुच्छा र जलपानसहित सम्मान गरेको थियो। बीबीएस चौथो वर्षकी संयोजक सुष्मिता ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी र शिक्षकबीचको आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
दुवै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले विद्यार्थीहरूले देखाएको सम्मानप्रति आभार व्यक्त गर्दै गुरुहरूको वास्तविक सम्मान उत्कृष्ट शैक्षिक उपलब्धिबाट हुने बताउनुभयो। उहाँले अनुशासित, जिम्मेवार र उत्कृष्ट नतिजासहित अध्ययन गर्नु नै गुरु तथा अभिभावकप्रतिको सबैभन्दा ठूलो सम्मान भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसका निवर्तमान अध्यक्ष पुष्पराज पन्थ, पूर्व अध्यक्ष रमेश लम्साललगायतको पनि उपस्थिति रहेको थियो। गुरुपूर्णिमाको अवसरमा आयोजित यी कार्यक्रमहरूले गुरु–शिष्य सम्बन्धलाई थप मजबुत बनाउनुका साथै वातावरण संरक्षणप्रति विद्यार्थीको सामाजिक उत्तरदायित्वसमेत उजागर गरेको सहभागीहरूले बताएका छन्।
प्रकाशित मिति: २०२६-०८-०१ , समय : १४:२४:५४ , २ घन्टा अगाडि