रुपन्देही खबर , ४० पटक हेरिएको
भैरहवा, भदौ ६
लुम्बिनी सांस्कृतिक नगरपालिका–१ मा नवनिर्मित वडा प्रशासनिक भवनको उद्घाटन गरिएको छ। वडा कार्यालयबाट नागरिकलाई प्रदान गरिने प्रशासनिक सेवा सहज, सरल, छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको भवनको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
वडा नं. १ का अध्यक्ष सुरजकुमार कलवारको अध्यक्षता तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन प्रमुख आतिथ्यतामा नवनिर्मित वडा प्रशासनिक भवनको उद्घाटन गरिएको हो ।
नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गुरु शिवप्रसाद पाण्डे र मौलाना प्रवेज खाँद्वारा धार्मिक मन्त्रोच्चारणसहित गरिएको थियो। त्यसपछि प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख हरिजनले दियो प्रज्वलन, रिबन काट्नुका साथै शिलालेख अनावरण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले नयाँ भवनले वडा कार्यालयबाट प्रवाह हुने सेवा थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले भौतिक पूर्वाधारसँगै नागरिकलाई सहज रूपमा सेवा दिने वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
“भवन निर्माण हुनु आफैंमा उपलब्धि हो, तर यसको वास्तविक सफलता नागरिकले यहाँबाट कस्तो सेवा पाउँछन् भन्ने कुरामा निर्भर हुन्छ। सेवाग्राहीलाई कुनै झन्झट नहुने गरी छिटो, सरल र पारदर्शी सेवा दिनुपर्छ,” उहाँले भन्नुभयो।
वडा अध्यक्ष सुरजकुमार कलवारले वडा कार्यालयको आफ्नै व्यवस्थित प्रशासनिक भवन निर्माण हुनु वडा नं. १ का लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यसअघि सेवा प्रवाहका क्रममा देखिएका भौतिक पूर्वाधारसम्बन्धी समस्यालाई नयाँ भवनले समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
“वडाको विकास सडक, नाला र भौतिक संरचनामा मात्र सीमित हुँदैन। नागरिकले आफ्नो कामका लागि वडा कार्यालयमा आउँदा सहज वातावरणमा सेवा पाउनु पनि विकासकै महत्वपूर्ण पक्ष हो। नयाँ भवनबाट नागरिकलाई छिटो र प्रभावकारी सेवा दिने हाम्रो प्रयास हुनेछ,” अध्यक्ष कलवारले भन्नुभयो।
उहाँले भवनको संरक्षण र उचित उपयोगमा कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय नागरिक सबैको जिम्मेवारी रहने बताउँदै प्रशासनिक भवनलाई जनमैत्री सेवा केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नं. २ देखि १३ सम्मका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख तथा वडा सचिवहरू, पूर्वमन्त्री ज्योतेन्द्र मोहन चौधरी ‘मुन्नुबाबु’, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, उपसचिव हरिप्रसाद ज्ञवाली तथा समाजसेवी एवं ज्येष्ठ नागरिक रुखमणी देवी श्रेष्ठ ,सशस्त्र प्रहरी बल बैरिघाटका प्रमुख, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही–भैरहवाका उपाध्यक्ष तथा लुम्बिनी होटल संघ नेपालका संस्थापक गोविन्द ज्ञवाली, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय वडावासीको सहभागिता रहेको थियो।
कार्यक्रममा सामाजिक सुरक्षा भत्ता नलिई राज्यप्रति आफ्नो जिम्मेवारी तथा सामाजिक उत्तरदायित्वप्रति सम्मान व्यक्त गर्नुभएकी समाजसेवी एवं ज्येष्ठ नागरिक रुखमणी देवी श्रेष्ठलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
त्यसैगरी, वडा प्रशासनिक भवन निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय तथा प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपभोक्ता समिति तथा समाजसेवी नितेश मोहन चौधरी ‘बब्लुबाबु’ र गङ्गाराम कुर्मीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
नवनिर्मित भवनमा वडा कार्यालयका नियमित प्रशासनिक काम तथा नागरिकलाई आवश्यक सेवाहरू सञ्चालन हुने जनाइएको छ। नयाँ भवनबाट सेवाग्राहीलाई सहज वातावरणमा सेवा उपलब्ध गराउन सकिने तथा कार्यालयको कामकारबाहीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा वडा सचिव विशाल घिमिरेले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लुम्बिनी सांस्कृतिक नगरपालिका समन्वयकर्ता तुलसीराम लामिछानेले गर्नुभएको थियो।
नयाँ प्रशासनिक भवन सञ्चालनमा आएसँगै वडा नं. १ मा स्थानीय सरकारको सेवा प्रवाह थप जनमैत्री बन्ने अपेक्षा गरिएको छ। साथै, भवनले सुशासन, पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी सेवा प्रवाहलाई संस्थागत गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
प्रकाशित मिति: २०२६-०८-२२ , समय : १०:४५:०२ , २ घन्टा अगाडि