रुपन्देही खबर , २९ पटक हेरिएको
मणिग्राम, भदौ १०
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पस, व्यवस्थापन संकायको आयोजनामा एमबीएस चौथो सेमेष्टरका विद्यार्थीका लागि शोधपत्र लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
शोधपत्र लेखनका लागि विद्यार्थीलाई आवश्यक ज्ञान, सीप तथा प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल कमर्स क्याम्पसका सहप्राध्यापक डा. प्रकाश श्रेष्ठले शोधपत्रको प्रस्तावना लेखन, तथ्यांक संकलन तथा विश्लेषणका विषयमा सहजीकरण गर्नुभएको थियो।
डा. श्रेष्ठले शोधपत्र तयार गर्दा विषय छनोटदेखि प्रस्तावना निर्माण, अध्ययनको उद्देश्य निर्धारण, तथ्यांक संकलन तथा प्राप्त तथ्यांकको विश्लेषणसम्मका प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराउनुभयो। उहाँले शोधपत्र लेखनका क्रममा अपनाउनुपर्ने विधि र अनुसन्धानमा तथ्यांकको भूमिकाबारे उदाहरणसहित प्रस्ट पार्नुभएको थियो।
कार्यक्रममा सहभागी एमबीएस चौथो सेमेष्टरका विद्यार्थीहरूले शोधपत्र लेखनका लागि आवश्यक तयारी, विषय छनोट, तथ्यांक संकलन तथा विश्लेषणलगायत विभिन्न पक्षबारे जिज्ञासा राखेका थिए। विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै डा. श्रेष्ठले अनुसन्धानमूलक अध्ययनमा विषयको स्पष्टता, तथ्यमा आधारित विश्लेषण र व्यवस्थित प्रस्तुतीकरण महत्वपूर्ण हुने बताउनुभयो।
क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको सहज सिकाइका लागि क्याम्पसले आवश्यक शैक्षिक तथा प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो। उहाँले शोधपत्र लेखन विद्यार्थीको शैक्षिक यात्राको महत्वपूर्ण पक्ष भएकाले यससम्बन्धी अभिमुखीकरणले विद्यार्थीलाई अनुसन्धान कार्यमा थप सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो।
व्यवस्थापन संकायका प्रमुख राजेन्द्र थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, सहायक प्राध्यापक मनोज पौडेललगायतको सहभागिता रहेको थियो। कार्यक्रमले एमबीएस विद्यार्थीलाई शोधपत्र तयार गर्ने क्रममा आवश्यक अनुसन्धान पद्धति र प्रक्रियाबारे व्यावहारिक जानकारी प्राप्त गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-२६ , समय : १३:४६:२८ , १ घन्टा अगाडि