हिमताल घटनाप्रति रुपन्देही क्रिकेट संघद्वारा दुःख व्यक्त

रुपन्देही खबर , ५४  पटक हेरिएको

भैरहवा, भदौ ११

हिमतालमा घटित हृदयविदारक घटनाप्रति रुपन्देही क्रिकेट संघले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। रुपन्देही क्रिकेट संघले बिहीबार जारी गरेको शोक वक्तव्यमार्फत घटनामा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको हो। संघले घटनाबाट आफूहरू स्तब्ध, मर्माहत र अत्यन्त दुःखी भएको जनाएको छ।

घटनामा मृत्यु भएकाहरूका परिवार, आफन्त तथा प्रियजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै संघले सम्पर्कविहीन तथा लापता रहेका व्यक्तिहरूको सकुशल उद्धारका लागि कामना गरेको छ। साथै, घाइते तथा घटनाबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

संघले हिमतालमा भएको घटनाले प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, सुरक्षा र पूर्वतयारीका विषयलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औँल्याएको छ। जोखिम पहिचान तथा विपद् न्यूनीकरणका उपायलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै संघले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा सावधानीका उपाय तत्काल प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

रुपन्देही क्रिकेट संघका सचिव उदय कुमार मल्लिक र अध्यक्ष हरि बहादुर थापाद्वारा जारी वक्तव्यमा विपत्तिको यस पीडादायी घडीमा पीडित परिवारको दुःखमा संघको ऐक्यबद्धता रहेको उल्लेख गरिएको छ।

संघले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई पीडा सहन सक्ने शक्ति मिलोस्, लापता सबैको सकुशल उद्धार होस् तथा घाइते र प्रभावितको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने कामना गरेको छ।

प्रकाशित मिति: २०२६-०८-२७ , समय : १०:५४:२३ , ४४ मिनेटutes अगाडि