दानव नदी किनारमा मृत भेटिएकी बालिकाको पाँच दिनपछि पोस्टमार्टम

 पहिचान अझै खुल्न सकेन

रुपन्देही खबर , ४८  पटक हेरिएको

भैरहवा, भदौ ११

रुपन्देहीको दानव नदी किनारमा मृत अवस्थामा फेला परेकी करिब ६ वर्षीया बालिकाको पाँच दिनपछि पोस्टमार्टम गरिएको छ। पहिचान खुल्न नसकेकी बालिकाको शवको बुधबार बिहान भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम गरिएको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, अजमाघाटस्थित दानव नदी किनारमा गत शनिबार बालिकाको शव फेला परेको थियो। नदीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेपछि प्रहरीले पहिचानका लागि विभिन्न माध्यमबाट खोजी तथा सूचना प्रवाह गर्दै आएको थियो।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार बालिकाको पहिचान खुल्न नसकेको र परिवार वा आफन्तसमेत सम्पर्कमा नआएपछि प्रहरीको प्रतिवेदनका आधारमा कानुनी प्रक्रियाअनुसार पोस्टमार्टम गरिएको हो। पाँच दिनदेखि बालिकाको शव भीम अस्पतालको मर्चरीमा राखिएको थियो।

प्रहरीले बालिकाको पहिचानका लागि घटनास्थल आसपासका क्षेत्रसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत हुलियासहितको सूचना तथा परिपत्र पठाएको जनाएको छ। तर पोस्टमार्टम गरिनुअघिसम्म बालिकाका अभिभावक वा आफन्त सम्पर्कमा आएका थिएनन्।

पोस्टमार्टमसँगै बालिकाको पहिचान खुलाउन डीएनए परीक्षणका लागि शवबाट नमुना संकलन गरिएको प्रहरी निरीक्षक रेग्मीले बताउनु भयो। उहाका अनुसार घटनाको थप अनुसन्धानका लागि पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिनेछ।

प्रहरीका अनुसार अब पनि केही समयसम्म बालिकाका अभिभावक वा आफन्त सम्पर्कमा नआए प्रचलित कानुन तथा प्रक्रियाअनुसार शवको अन्त्येष्टि गरिनेछ। त्यसका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

बालिका कसरी दानव नदीसम्म पुगिन्, उनको मृत्यु वास्तवमै डुबेर भएको हो वा अन्य कुनै कारणले भयो, तथा उनीसँग सम्बन्धित परिवार वा अभिभावक अहिलेसम्म किन सम्पर्कमा आएनन् भन्ने विषयमा भने अनुसन्धान जारी छ। पोस्टमार्टम रिपोर्ट र डीएनए परीक्षणको नतिजापछि घटनाबारे थप तथ्य खुल्ने प्रहरीको अपेक्षा छ।

प्रकाशित मिति: २०२६-०८-२७ , समय : ११:५२:०१ , १ घन्टा अगाडि