रुपन्देही खबर , ४० पटक हेरिएको
भैरहवा, भदौ २७
रुपन्देहीको रोहिणी गाउँपालिका–४ छिपागढमा सञ्चालित निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविरमा २ सय ६७ जनाको आँखा परीक्षण गरिएको छ। परीक्षणका क्रममा ८६ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ। श्री सिद्धार्थ सामुदायिक सिकाइ केन्द्र, रोहिणी–४ छिपागढको आयोजनामा तथा श्री रण अम्बिका शाह आँखा अस्पताल, सिद्धार्थनगर–३ को प्राविधिक सहयोगमा शनिबार श्री छिपागढ माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो।

आँखासम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि आयोजना गरिएको शिविरमा रोहिणी गाउँपालिकासहित ओमसतिया, नवलपरासी लगायतका विभिन्न स्थानबाट आएका सर्वसाधारणले आँखा परीक्षण गराएका थिए। आर्थिक अवस्था कमजोर भएका तथा आँखाको परीक्षण र उपचारका लागि टाढा जानुपर्ने नागरिकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
श्री सिद्धार्थ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सञ्जयकुमार गुप्ताको अध्यक्षतामा तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो।
अध्यक्ष गुप्ताले समुदायका नागरिकलाई सहज र निःशुल्क रूपमा आँखा परीक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले समयमै आँखा परीक्षण र उपचार हुन नसक्दा दृष्टिसम्बन्धी समस्या जटिल बन्न सक्ने भएकाले स्थानीयस्तरमा स्वास्थ्य सेवा र सचेतना विस्तार आवश्यक रहेको बताउनुभयो।
शिविरमा मोतियाबिन्दु पहिचान भएका ८६ जनाको निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो। उहाँका अनुसार शल्यक्रियाका लागि उनीहरूलाई आइतबार श्री रण अम्बिका शाह आँखा अस्पताल पठाउने व्यवस्था गरिएको छ।
प्रमुख अतिथि यादवले आँखाको नियमित परीक्षण र समयमै उपचारले दृष्टि जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालन गरिने यस्ता स्वास्थ्य शिविरले उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
स्थानीयस्तरमै आयोजना गरिएको शिविरमा विभिन्न क्षेत्रका नागरिकको सहभागिता देखिनुले ग्रामीण तथा पहुँचबाट टाढा रहेका समुदायमा आँखासम्बन्धी स्वास्थ्य सेवाको आवश्यकता अझै रहेको देखाएको आयोजकको भनाइ छ।
प्रकाशित मिति: २०२६-०९-१३ , समय : ००:०९:५२ , १ घन्टा अगाडि