ओमसतियाबाट कटुवा पेस्तोल र २५ राउण्ड गोलीसहित दुई जना पक्राउ

रुपन्देही खबर , १०९  पटक हेरिएको

भैरहवा, भदौ ३०

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–६ नरैनापुरका २३ वर्षीय अमनकुमार धवल र सोही स्थानका २० वर्षीय सुनिल केवट रहेका छन्।

प्रहरीका अनुसार धवलको घरमा कटुवा पेस्तोल लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान ७ बजे उनको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २५ राउण्ड गोली बरामद गरेको जनाएको छ।

हातहतियार फेला परेपछि प्रहरीले घरधनी धवलसहित सोही स्थानका केवटलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि हातहतियारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

 

प्रकाशित मिति: २०२६-०९-१५ , समय : १०:४६:०८ , २ घन्टा अगाडि