रुपन्देही खबर , २९ पटक हेरिएको
परासी, असोज ५
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब ४० लाख ४८ हजार रुपैयाँ बराबरको अवैध मदिरा र कार नियन्त्रणमा लिएको छ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरस्थित सीमा क्षेत्रमा आइतबार भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मदिरासहित कार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
प्रहरीका अनुसार भारतबाट यूपी ३२ यूटी ५६८९ नम्बरको कारमा राखेर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको चेकिङ टोलीले कारसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
कारबाट ‘ओल्ड मङ्क’ रम २७४ पिस बरामद भएको प्रहरीले जनाएको छ। बरामद मदिराको अनुमानित मूल्य ५ लाख ४८ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, मदिरा ओसारपसारमा प्रयोग भएको यूपी ३२ यूटी ५६८९ नम्बरको कारको अनुमानित मूल्य ३५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। मदिरा र कारसहित बरामद सामग्रीको कुल अनुमानित मूल्य ४० लाख ४८ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
नियन्त्रणमा लिइएका दुई जना र बरामद मदिरासहितको कार आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०९-२१ , समय : ०९:४५:३९ , २ घन्टा अगाडि