उर्मिला यादव यात्री , ४८ पटक हेरिएको
लुम्बिनी, असोज १९
लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी नियुक्तिमा स्थानीयवासीलाई प्राथमिकता नदिए सशक्त आन्दोलन गर्ने श्रम संस्कृति पार्टी, लुम्बिनी सांस्कृतिक नगरपालिका नगर कमिटी रुपन्देहीले चेतावनी दिएको छ। पार्टीले बाहिरबाट व्यक्ति ल्याएर राजनीतिक पहुँचका आधारमा नियुक्ति गर्ने प्रवृत्ति अन्त्य गरी स्थानीय पढेलेखेका, अनुभवी र योग्य जनशक्तिलाई अवसर दिन माग गरेको हो।
श्रम संस्कृति पार्टीले सोमबार लुम्बिनीको पर्सामा पत्रकार सम्मेलन तथा खबरदारी कार्यक्रम गर्दै लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा स्थानीय जनताको सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो।
पार्टीका कार्यवाहक नगर अध्यक्ष अब्दुल हासिम खानले लुम्बिनीमै बसोबास गर्ने स्थानीयलाई अवसर नदिई बाहिरबाट पदाधिकारी ल्याएर नियुक्त गर्ने व्यवस्था आफूहरूलाई स्वीकार्य नभएको बताउनुभयो। लुम्बिनीको वास्तविक समस्या, स्थानीयको आवश्यकता र जनभावना बुझ्ने व्यक्ति नै विकास कोषको जिम्मेवार पदमा हुनुपर्ने उहाँको भनाइ छ।
‘हामीलाई बाहिरी पदाधिकारी चाहिँदैन। लुम्बिनी विकास कोषमा स्थानीयलाई नै प्राथमिकता दिएर पदाधिकारी चयन तथा नियुक्त गर्नुपर्छ,’ खानले भन्नुभयो, ‘बाहिरबाट पदाधिकारी ल्याइए त्यसको बहिष्कार र विरोध गर्न हामी बाध्य हुनेछौँ।’
उहाँले स्थानीय जनताले विकास कोषका पदाधिकारीसँग प्रत्यक्ष रूपमा आफ्ना प्रश्न, समस्या तथा गुनासा राख्न पाउने वातावरण बनाउनुपर्ने माग गर्नुभयो। स्थानीयले आफ्ना सवाल राख्न खोज्दा प्रहरी परिचालन गरी रोक्ने गरिएको दाबी गर्दै उहाँले विकास कोष र स्थानीयबीच प्रत्यक्ष संवाद आवश्यक रहेको बताउनुभयो।
खानका अनुसार लुम्बिनीको विकास तथा व्यवस्थापनमा स्थानीयलाई रोजगारीका अवसर दिनुका साथै निर्णय प्रक्रियामा समेत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। नयाँ सरकार र नयाँ सोचअनुसार विकास कोषका पदाधिकारी तथा कर्मचारी नियुक्तिमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।
पार्टीका नगर कमिटी उपाध्यक्ष महबुब आलमले लुम्बिनी विकास कोषको नाम भए पनि स्थानीयले अपेक्षाअनुसार विकासको अनुभूति गर्न नसकेको गुनासो गर्नुभयो। पत्रकार सम्मेलन गर्न आफूहरू बाध्य भएको उल्लेख गर्दै उहाँले विकास कोषको व्यवस्थापन, सेवा प्रवाह र स्थानीयसँगको सम्बन्धबारे प्रश्न उठिरहेको बताउनुभयो।
आलमले केही वर्षअघि लुम्बिनीमा सञ्चालनमा रहेका विकास कोषका सवारीसाधन अहिले कहाँ र कुन प्रयोजनमा प्रयोग भइरहेका छन् भन्नेबारे स्थानीयलाई जानकारी नभएको दाबी गर्नुभयो। विकास कोषका केही सवारीसाधन हटाइएको विषयमा समेत स्थानीयले जवाफ पाउन नसकेको उहाँको भनाइ थियो।
‘लुम्बिनी विकास कोष छ, तर विकास कहाँ छ ? यहाँका जनताले विकास खोजिरहेका छन्,’ आलमले भन्नुभयो, ‘केही वर्षअघि यहाँ विकास कोषका गाडीहरू चल्थे, अहिले ती गाडी कहाँ गए भन्नेबारे स्थानीयलाई जानकारी छैन।’
उहाँले लुम्बिनीमा योग्य र पढेलेखेका स्थानीय जनशक्ति हुँदाहुँदै बाहिरबाट कर्मचारी तथा पदाधिकारी ल्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो। स्थानीयलाई जिम्मेवारी दिइए उनीहरूले यहाँका समस्या, आवश्यकता र जनताको भावना राम्रोसँग बुझेर काम गर्न सक्ने उहाँको भनाइ थियो।
आलमले स्थानीयलाई सरसफाइ, घाँस काट्ने वा अन्य सीमित काममा मात्र सहभागी गराउनेभन्दा विकासका महत्वपूर्ण योजना, व्यवस्थापन र निर्णय प्रक्रियामा समेत सहभागी गराउनुपर्ने बताउनुभयो। ‘यहाँ पढेलेखेका मानिस छैनन् र ? सबै काठमाडौं, नारायणगढ, पोखरा वा अन्य ठाउँबाट मात्रै आउनुपर्छ भन्ने होइन,’ उहाँले भन्नुभयो, ‘लुम्बिनीका स्थानीयलाई जिम्मेवारी दिए उनीहरूले यहाँको दुःख, समस्या र आवश्यकता बुझेर काम गर्न सक्छन्।’
पार्टीका नगर सचिव रैस आलम मुसलमानले लुम्बिनी विकास कोषले विकासलाई लुम्बिनी क्षेत्रभित्र सीमित गरेको भन्दै लुम्बिनी वरपरका स्थानीय बस्ती तथा क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले राजनीतिक नियुक्तिबाट बाहिरका व्यक्ति ल्याउँदा स्थानीय समस्या र आवश्यकताबारे पर्याप्त जानकारी नहुने दाबी गर्नुभयो।
उहाँले राजनीतिक पहुँचका आधारमा नभई खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्नुपर्ने माग गर्नुभयो। स्थानीयलाई योग्यताका आधारमा अवसर सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उहाँले कर्मचारी नियुक्तिमा पारदर्शिता र प्रतिस्पर्धा कायम गर्नुपर्ने बताउनुभयो।
‘पढेलेखेका स्थानीयलाई योग्यताका आधारमा अवसर दिनुपर्छ। राजनीतिक सिफारिस वा पहुँचका आधारमा हुने प्रत्यक्ष नियुक्ति हामीलाई स्वीकार्य छैन,’ मुसलमानले भन्नुभयो।
उहाँले लुम्बिनी विकास कोषअन्तर्गतका विकास निर्माणका काममा अनियमितता र कमिसनको चलखेल हुने गरेको आरोप पनि लगाउनुभयो। एउटै सडकमा पटक–पटक बजेट खर्च गर्ने तथा आफ्ना निकटका व्यक्तिलाई काम दिने र त्यसबाट कमिसन लिने गरिएको उहाँको दाबी थियो। यी आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन।
यस्तै, पार्टीका नेता सब्बुदीन खानले अध्यक्ष, सचिवलगायत जिम्मेवार पदमा बाहिरबाट आउने व्यक्तिका कारण स्थानीय जनताको सुनुवाइ प्रभावकारी हुन नसकेको दाबी गर्नुभयो। स्थानीयको समस्या बुझ्न र समाधान गर्न जिम्मेवार अधिकारी लुम्बिनीमै बसेर काम गर्नुपर्ने उहाँको भनाइ थियो।
खानले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय महत्व भए पनि आधारभूत व्यवस्थापनमा कमजोरी रहेको गुनासो गर्नुभयो। लुम्बिनीमा पर्याप्त बत्ती नहुने, धुलो तथा सरसफाइको समस्या रहने र रातिको समयमा सुरक्षा व्यवस्था कमजोर रहेको उहाँले दाबी गर्नुभयो।
‘लुम्बिनी विश्वभर परिचित ठाउँ हो, तर यहाँ बराबर बत्ती हुँदैन, दिनमा धुलोले भरिएको देखिन्छ र सरसफाइ पनि राम्रो छैन,’ उहाँले भन्नुभयो, ‘रातिको समयमा सुरक्षा व्यवस्था कमजोर हुँदा बाहिरबाट आउने पर्यटक तथा आगन्तुकले समेत समस्या भोग्नुपरेको छ।’
लुम्बिनीको व्यवस्थापन कमजोर भइरहे धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा यसको प्रतिष्ठामा असर पर्न सक्ने उहाँको भनाइ थियो। स्थानीय जनता तथा सरोकारवालाले जिम्मेवार पदाधिकारीसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या राख्न सहज वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो।
पार्टीले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व संरक्षणसँगै स्थानीयको रोजगारी, प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको छ। लुम्बिनीको विकास धार्मिक तथा पर्यटकीय क्षेत्रभित्र मात्रै सीमित नराखी स्थानीय जनताको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने पार्टीको भनाइ छ।
स्थानीयको माग सम्बोधन नगरी बाह्य व्यक्तिलाई विकास कोषका जिम्मेवार पदमा नियुक्त गरिए स्थानीयवासीलाई एकजुट बनाएर विरोध तथा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पार्टीका नेताहरूले दिएका छन्।
प्रकाशित मिति: २०२६-१०-०५ , समय : २२:४६:१४ , २ घन्टा अगाडि