चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४ सै घण्टा प्रहरी परिचालन

रुपन्देही खबर , १२  पटक हेरिएको

कार्तिक ३

चाडपर्वका बेला घर फर्कने यात्रुको सुरक्षा, सहज आवागमन तथा सम्भावित ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर २४ सै घण्टा उच्च सुरक्षा सतर्कतासहित प्रहरी परिचालन गरेको छ । दशैँ–तिहार लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत लामो दूरीका यात्रुवाहक गाडीका चालकको जाँडरक्सी तथा लागूऔषध खाएको परीक्षणदेखि राजमार्गका होटल तथा खाजा घरमा हुने कालोबजारी र बढी भाडा असुली नियन्त्रणसम्मका कार्यलाई कडाइ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले चाडपर्वका बेला प्रहरी कर्मचारीको नियमित बिदासमेत स्थगन गरी नागरिकको सुरक्षामा टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार लामो दूरीका गाडी छुट्ने ठाउँमै चालकको अनुमति पत्र, गाडीको यान्त्रिक अवस्था तथा मादक पदार्थ र लागूऔषध सेवन गरे–नगरेको जाँच भइरहेको छ ।

त्यस्तै, राजमार्गका होटल तथा खाजा घरमा गुणस्तरहीन र मिसावटयुक्त खाना बिक्री गर्ने, बढी मूल्य असुल्ने तथा यात्रुलाई ठगी गर्ने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायसँगको समन्वयमा छड्के अनुगमन भइरहेको छ ।

प्रकाशित मिति: २०२६-१०-२० , समय : १९:१८:५८ , ६ घन्टा अगाडि