रुपन्देही खबर , २७ पटक हेरिएको
भैरहवा, कार्तिक १६
नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगर, रुपन्देहीले शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भैरहवास्थित काँग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टीको रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको बताउनुभयो । उहाँले काँग्रेस सिद्धार्थनगरले आयोजना गरेको रक्तदान कार्यक्रम समाज र अन्य राजनीतिक दलका लागि समेत उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
‘राजनीतिक दलले राजनीति गर्ने, संगठन बनाउने र चुनाव लड्ने मात्र होइन, समाजका दीनदुःखीका लागि पनि काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । एक थोपा रगतको अभावमा मानिसको ज्यान जान सक्ने उल्लेख गर्दै उहाँले देशभर रगतको अभाव भइरहेका बेला त्यसको परिपूर्तिमा कार्यक्रमले केही भए पनि सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले रक्तदान महत्वपूर्ण मानवीय कार्य भएकाले यसलाई सानो रूपमा लिन नहुने बताउनुभयो । उहाँले स्वस्थ व्यक्तिहरूलाई प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्न आग्रह गर्नुभयो ।
पार्टीको सिद्धार्थनगर समितिका सभापति देवराज न्यौपानेले राजनीति मात्र नगरी विभिन्न सामाजिक गतिविधिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले रगतको व्यवस्थापन गर्ने जिम्मेवारी रेडक्रसको रहेको बताउनुभयो । समाजका अगुवा, सामाजिक अभियन्ता, संघ–संस्था तथा आम नागरिकको साथ र सहयोगमा जिल्लामा रगतको सहज व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले रक्तदानजस्तो मानवीय सेवाको कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्न आग्रह गर्नुभयो । चाडपर्वका समयमा हुन सक्ने रगतको अभाव हुन नदिन गर्न यस्ता कार्यक्रम सहयोगी बन्ने उहाँको भनाइ थियो ।काँग्रेस नगर उपसभापति गौरव श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ३२ यूनिट रगत संकलन भएको नगर समितिका सचिव धर्मवीर शर्माले जानकारी दि
नुभयो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रुपन्देही रक्त सञ्चार सेवा इकाई भैरहवा (युसीयमयस) को प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२६-११-०२ , समय : १३:३५:०५ , २ घन्टा अगाडि