देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

रुपन्देही खबर , ४३  पटक हेरिएको

रुपन्देही, कात्तिक २६

रुपन्देहीमा परम्परागत देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले बुधबार राति  लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएका देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचारविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०२६-११-१२ , समय : ११:३९:३४ , ५८ मिनेटutes अगाडि