रुपन्देही खबर , ४१ पटक हेरिएको
भैरहवा, कात्तिक २६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि भारत सरकारको सहयोग र पहल गर्न आग्रह गर्नुभएको छ। नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा भारतीय उच्च अधिकारीहरूसँग भएको छलफलमा उहाँले विमानस्थल सञ्चालनसँगै नेपाली सवारीसाधनलाई भारतमा सहज आवागमनको व्यवस्था मिलाउनुपर्ने विषय उठाउनुभएको हो।
नोभेम्बर ४ मा काठमाडौंमा भएको भेटघाटमा सांसद भाटले भारतीय विदेश सचिव विक्रम मिश्री र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासँग छलफल गर्नुभएको थियो। भेटका क्रममा आफूले मुख्यतः दुईवटा विषयलाई प्राथमिकताका साथ उठाएको उहाँले जानकारी दिनुभयो।
सांसद भाटले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सके नेपाल र भारत दुवै देशको पर्यटन क्षेत्रले लाभ लिन सक्ने बताउनुभयो। विशेषगरी दुई देशबीचको धार्मिक तथा पर्यटकीय आवागमन विस्तार गर्न विमानस्थलको नियमित सञ्चालन महत्वपूर्ण हुने भन्दै त्यसका लागि भारत सरकारको सहयोग र पहल आवश्यक रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, नेपाली र भारतीय सवारीसाधनको एकअर्काको देशमा आवागमनसम्बन्धी व्यवस्थामा रहेको असहजताबारे पनि उहाँले भारतीय अधिकारीहरूको ध्यानाकर्षण गराउनुभएको थियो। भारतीय सवारीसाधन आवश्यक भन्सार प्रक्रिया पूरा गरेपछि नेपालभर आवतजावत गर्न पाउने व्यवस्था भए पनि नेपाली सवारीसाधन भारत प्रवेश गर्दा निश्चित दूरीसम्म मात्र जान पाउने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो।
नेपाली सवारीसाधन भारतमा लामो दूरीसम्म लैजान भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थालाई सहज बनाउनुपर्ने सांसद भाटको माग थियो। नेपाल–भारतबीचको सुमधुर सम्बन्धलाई ध्यानमा राखेर नेपाली सवारीसाधनलाई पनि भारतमा सहज आवागमनको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभएको थियो।
आफूले प्राप्त गरेको जानकारीअनुसार भारत सरकारले नेपाली सवारीसाधनको आवागमनसम्बन्धी विषयमा आवश्यक प्रक्रिया अगाडि बढाइसकेको सांसद भाटले बताउनुभयो।
यसका साथै नेपालको शिक्षा, स्वास्थ्य तथा समग्र विकासका क्षेत्रमा भारत सरकारले विगतदेखि गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने अपेक्षा आफूले राखेको उहाँले जानकारी दिनुभयो।
नेपाल–भारतबीचको आपसी हित, पर्यटन प्रवर्द्धन, यातायात सुविधा र विकास सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आफूले यी विषय भारतीय उच्च अधिकारीहरूसमक्ष राखेको सांसद भाटले बताउनुभएको छ।
प्रकाशित मिति: २०२६-११-१२ , समय : १५:४६:१८ , २४ मिनेटutes अगाडि