जय बागेश्वरी सहकारीको २१औँ साधारणसभा सम्पन्न, प्रतिवेदन सर्वसम्मत पारित

rupandehi khabar , ८  पटक हेरिएको

भैरहवा, मंसिर ६

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ मा रहेको श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको वार्षिक प्रगति, आर्थिक तथा लेखा प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

संस्थाका अध्यक्ष अशोक कुमार शाहको अध्यक्षता तथा रुपन्देही नागरिक समाज एवं राष्ट्रिय वैश्य महासङ्घ नेपालका जिल्ला अध्यक्ष अमित कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा सहकारीको संस्थागत विकास, वित्तीय सुशासन, सदस्यको हित र सेवा विस्तारका विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुप्ताले सहकारी संस्थाहरू आर्थिक विकासका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले जय बागेश्वरी बहुमुखी सहकारीले सदस्यको हितलाई प्राथमिकतामा राखेर पारदर्शी र उत्तरदायी ढंगले सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै वित्तीय पहुँच नपुगेका वर्गसम्म सेवा पुर्‍याउनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

सहकारीलाई थप सुदृढ बनाउन सुशासन, प्रविधिको प्रयोग र दक्ष व्यवस्थापनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

संस्थाका अध्यक्ष शाहले स्थापना कालदेखि नै अनुशासन, पारदर्शिता र सदस्य सहभागितालाई प्राथमिकतामा राखेर संस्था सञ्चालन गर्दै आएको बताउनुभयो । सदस्यहरूको बचत सुरक्षित राख्दै उत्पादनशील क्षेत्रमा ऋण लगानी, स्वरोजगार सिर्जना तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको उहाँले जानकारी दिनुभयो ।

आगामी दिनमा सहकारीको सेवा विस्तार, प्रविधिमैत्री सेवा प्रवाह, जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि अध्यक्ष शाहले व्यक्त गर्नुभयो ।

साधारणसभामा उपाध्यक्ष अविनाश चन्द जयसवालले स्वागत मन्तव्य राख्दै सदस्यहरूको विश्वास र सक्रिय सहभागिताले संस्था सबल बन्दै गएको बताउनुभयो । सहकारीको दिगो विकासका लागि सदस्य, कर्मचारी र सरोकारवालाबीच सहकार्य र एकता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

संस्थाका सचिव अमर कुमार झाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका उपलब्धि, सेवा विस्तार, ऋण लगानी, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराउनुभयो । त्यसैगरी, कोषाध्यक्ष सियाराम यादवले आर्थिक तथा वित्तीय प्रतिवेदन र लेखा समिति संयोजक शत्रुधन पण्डितले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाले प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष इन्जिनियर दशरथ भक्त, सल्लाहकार राजेश कुमार श्रीवास्तव, नेपाल वैश्य युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष एवं समाजसेवी तालकेश्वर कान्दु, जैसवाल सेवा समिति भैरहवा रुपन्देहीका अध्यक्ष सौदागर जैसवाल तथा इन्जिनियर सिताराम भक्तलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसै अवसरमा २०८३ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो । साथै, संस्थाका सम्पूर्ण कर्मचारीलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

साधारणसभामा संस्थाका शेयर सदस्य, सञ्चालक समिति तथा लेखा समिति सदस्य, कर्मचारी, स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-११-२२ , समय : १४:३८:२७ , २ घन्टा अगाडि