भन्सार छलेर ल्याइएका कुखुराको चल्ला र प्याज रुपन्देहीबाट बरामद

रुपन्देही खबर , २८१  पटक हेरिएको

भैरहवा, पुस २१

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याइएको अवैध ब्रोइलर कुखुराको चल्ला र प्याज बरामद गरेको जनाएको छ । प्रहरी चौकी मैनहियाबाट खटिएको टोलीले बिहीबार रोहिणी गाउँपालिका वडा नम्बर ७ लखनौतियाबाट ३५ कार्टुन २ हजार १ सय वटा कुखुराको चल्ला बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा अन्दाजी मूल्य १ लाख ६८ हजार रुपैयाँ बराबरको चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ । बरामद गरिएको चल्ला आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय बेलहियामा बुझाइएको डीएसपी भट्टले बताउनु भयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० बाट २८ बोरा १ हजार ७ सय किलो अवैध प्याज बरामद गरेको छ । डीएसपी भट्टका अनुसार भारतबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले अन्दाजी मूल्य ८५ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । बरामद गरिएको प्याज आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-०६ , समय : ०६:२८:३२ , ५ महिना अगाडि