मोबाइल व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा बैजनाथ गुप्ता निर्वाचित

संकट र समस्या पर्दा संस्थाको साथ आवश्यक पर्ने भएकोले एकजुट भएर अघि बढ्न आग्रह

रुपन्देही खबर , २६३  पटक हेरिएको

भैरहवा, पुस २१

मोबाइल व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा बैजनाथ गुप्ता निर्वाचित हुुनु भएको छ । मोबाइल व्यवसायी संगठन रुपन्देहीको शनिबार भैरहवामा भएको प्रथम अधिवेशन तथा साधारणसभाले गुप्ताको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तै संगठनको उपाध्यक्षमा हरि बहादुर पाण्डे, महासचिवमा राजकुमार गुप्ता हलुवाई, सचिवमा सन्तोष कुमार नाउ, सहसचिवमा प्रविन गैरे, कोषाध्यक्षमा श्याम प्रकाश गुप्ता र सह–कोषाध्यक्षमा दिनेश गुप्ता निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रख्यात बन्जाडेले जानकारी दिनु भएको छ ।

त्यसै गरी सदस्यहरुमा दीपक पौडेल, जसवन्त धवल, सत्यम कलवार, पुरुषोत्तम केसरी, रमेश यादव र मोहम्मद रसिद मुसलमान निर्वाचित हुनु भएको छ । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य मनिष कुमार जोशीले संगठनको महत्वबारे बुझ्नुपर्ने बताउनु भएको छ । उहाले बिना टीमको संगठन नबन्ने र मोबाइल व्यवसायी संगठन रुपन्देहीको टीम बलियो रहेको बताउनु भयो । त्यस्तै मोबाइल व्यवसायी संगठन रुपन्देहीका वरिष्ठ सल्लाहकार ग्रिसचन्द्र त्रिपाठीले खुल्ला सीमाका कारण नेपाली व्यवसायी मर्कामा परेको बताउनु भएको छ । उहाले नेपाली उपभोक्ता सस्तो पाइने नाममा सीमापारी बजार पुगेर मोबाइल खरिद गर्दा स्वदेशी बजारमा असर पुगेकाले उपभोक्तामा जागरुकता आवश्यक रहेको बताउनु भयो ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यवाहक अध्यक्ष कमल रायमाझीले संकट र समस्या पर्दा संस्थाको साथ आवश्यक पर्ने भएकोले एकजुट भएर अघि बढ्न आग्रह गर्नु भएको छ । उहाले भारतबाट अवैध रुपमा नेपाल भित्रिदा नेपाली व्यवसायी मर्कामा परेकाले गलत काम गर्ने व्यक्तिको कुनै व्यवसायीले पनि संरक्षण गर्न नहुने बताउनु भएको छ ।

मोबाइल व्यवसायी संगठन, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष बैजनाथ गुप्ताले संगठनले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको बताउनु भएको छ । उहाले मोबाइल पसल समयसमयमा चोरी हुँदा व्यवसायी मर्कामा परेको बताउदै चोरीमा संलग्न व्यक्तिहरुलाई व्यवसायीले समातेर प्रहरीलाई बुझाएको बताउनु भयो । सिद्धार्थ सञ्जाल, रुपन्देहीका कार्यसमिति सदस्य हरिश सेठियाले व्यवसाय सञ्चालन गर्दा धेरै कुराको ज्ञान आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।

कार्यक्रममा संस्थामा रहेर योगदान पुर्याएको भन्दै मोबाइल व्यवसायीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संगठनका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रख्यात बन्जाडेले सपथग्रहण गराउनु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-०६ , समय : २०:२०:५२ , ३ महिना अगाडि