कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १८ बर्षपछि पक्राउ

रुपन्देही खबर , १८८  पटक हेरिएको

भैरहवा, चैत १४

कर्तव्य ज्यान मुद्दामा फरार रहेका आरोपीलाई रुपन्देही प्रहरीले १८ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको साविक गंगोलिया गा.वि.स.वडा नम्बर ५ हाल तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवाका ५२ वर्षिय रामपृत मल्लाह रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी मनोहर प्रसाद भट्टका अनुसार २०६२ पुस २५ गते राती अन्दाजी २ बजे साविक गंगोलिया गा.वि.स.–५ हाल तिलोत्तमा–१७ दरखसवा निवासी रामपृत मल्लाह लगायतका व्यक्तिहरुले सोही स्थान बस्ने जंग बहादुर यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरेको आरोप छ ।

‘घटना भएदेखि फरार रहेका व्यक्तिहरुलाई खोजतलास तथा अनुसन्धान गर्दै जाँदा भारतबाट नेपालतर्फ फर्कने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रामपृतलाई पक्राउ गरेको डीएसपी भट्टले जानकारी दिनु भएको छ । रामपृतविरुद्ध २०६२ पुस २६ गते ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको थियो । रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप भइ हाल ईलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाउँकै सार्वजनिक जग्गामा प्रतिवादी रामपृत मल्लाहले घरटहरा बनाएको विषयमा मृतक जंग बहादुर लगायत स्थानीयहरुसँग विवाद रहेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिवादी रामपृतले घरटहरा बनाएको सार्वजनिक स्थानमा मृतक लगायतका स्थानीयहरुले मन्दिर बनाउने निर्णय गरेको थिए । तर, केही दिनको विवाद पश्चात पक्राउ परेका रामपृत लगायतका व्यक्तिहरु रातको २ बजे जंग बहादुर आफ्नै घरमा सुतिरहेको स्थानमा पुगेर टाउकोमा पेस्तोलले गोली हानी फरार रहेको भन्ने हालसम्मको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-२७ , समय : ०९:३८:५५ , २ हप्ता अगाडि