गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सरकार र राजनीतिक नेतृत्वको ध्यान पुग्न सकेन

रुपन्देही खबर , २०९  पटक हेरिएको

भैरहवा, वैशाख ११

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सरकार र राजनीतिक नेतृत्वको ध्यान पुग्न नसकेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन । उनीहरुले विमानस्थल नियमित र पूर्ण सञ्चालनतर्फ सरकार उदासिन रहेको बताएका छन ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको रुपन्देही क्षेत्रका आर्थिक मुद्दा समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यस्तो बताएका हुन ।
यस्तै गरी नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा संचालन गर्नुपर्ने बताउनु भएको छ । उहाले यस बिषयमा सबैले चासो राख्नुपर्ने बताउनु भएको छ ।


पूर्वमन्त्री समेत रहनु भएको भुसालले विमानस्थलको मुद्धा सबैको भएको बताउदै यो समस्या समाधानका लागि राजनीतिक नेतृत्वले पनि आफ्नो दायित्व राम्रोसँग निर्वाह गर्नुपर्ने बताउनु भएको छ । नेता भुसालले राजनीतिक रुपमा आफू केही समय ‘डिस्टर्ब’ भएको र व्यवस्थित हुन नपाएको भन्दै अब रुपन्देहीका समस्या समाधान गर्न लागिपर्ने बताउनु भएको छ । उहाले आफू एक्लैले समस्या समाधान गर्ने कुरा नगर्ने र यस्तो भन्न पनि नहुने बताउनु भएको छ । कार्यक्रममा उद्योगी(व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि राज्यले ध्यान नदिएको गुनासो गरेका छन् ।

त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थल सञ्चालन गर्नेतर्फ सरकार र राजनीतिक नेतृत्वको ध्यान पुग्न नसकेकाले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएको बताउनु भएको छ । उहाले विमानस्थल नियमित र पूर्ण सञ्चालनतर्फ सरकार उदासिन रहेको बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले विमानस्थल सञ्चालनका लागि संघ संस्था, नागरिक समाजले गुहार गरिरहेको भए पनि राज्यले नसुनेको बताउनु भएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपाने, नाट्टाका लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष सागर अधिकारी, सिद्धार्थ सञ्जालका महासचिव संजय बजिमय, लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भसाल, सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष राममिलन यादव, उद्योगी चन्द्रमान श्रेष्ठ, सिद्धार्थ उदोग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार कुल प्रसाद न्यौपाने, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार महेन्द्र कुमार श्रेष्ठ लगायतले आ आफनो भनाइ राख्नु भएको थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यको स्वागत तथा महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०४-२३ , समय : २०:२१:३६ , २ हप्ता अगाडि