रुपन्देहीमा ९ लाख बढीका भन्सार छलीका सामान बरामद

रुपन्देही खबर , ३०  पटक हेरिएको

भैरहवा, असोज ८

रुपन्देही प्रहरीले जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी भित्र्याइएका ९ लाख ६ हजार ४ सय ४० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरीले बिहीबार गरेको चेकजाँचका क्रममा मोटरसाइकलसहित दूध पाउडर, कस्मेटिक, किराना, जुत्ता, कपडा, मोटर पार्ट्स तथा पटका बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदहबाट २ लाख ८९ हजार ९ सय रुपैयाँ बराबरका सामान बरामद भएका छन्। त्यहाँबाट यूपी ५६ एएस ४६२१ नम्बरको मोटरसाइकलसहित ५० किलो दूध पाउडर, २४५ थान टोपी, २० किलो बेसन, २४० थान छालाको बेल्ट तथा विभिन्न किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, सिद्धार्थनगर नगरपालिका–८ रविपथबाट २ लाख ५४ हजार २ सय १९ रुपैयाँ बराबरका सामान बरामद भएका छन्। प्रहरीले प्रोटिनका दुई प्याकेट, स्किन रेडियन्सका १० डब्बा, २९ थान किड्स स्मार्ट प्याड, एक थान हाफ टी–सर्ट, ९९ थान सेटाफिल फेसवासलगायतका सामान नियन्त्रणमा लिएको छ।

सिद्धार्थनगर–१ बेलहियाबाट १ लाख ८५ हजार ६ सय १ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। बरामद सामानमा २० थान डट की, २५ थान फेस क्रिम, ५९ थान स्याडो क्रिम, आठ थान मामाअर्थ, ५४ थान राइस वाटर, १२ थान मोइस्चर फेसवास तथा विभिन्न किराना सामान रहेका छन्।

यसैगरी सिद्धार्थनगर–१ डण्डापुलबाट ६५ हजार ७ सय २० रुपैयाँ बराबरका मोटर पार्ट्स, प्रोटिन, बेल्ट तथा विभिन्न प्रकारका पटका बरामद भएका छन्। सोही वडाको बाइपासबाट १ लाख ११ हजार रुपैयाँ बराबरका १० जोर जुत्ता र २० थान लेडिज सुट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाएको जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-२४ , समय : २२:४२:३४ , ३४ मिनेटutes अगाडि