बुटवलमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी

अमृता अनमोल , १८३  पटक हेरिएको

बुटवल, असार ६

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । आज साँझ करिब साढे ७ बजे लागेको आगो अहिले पनि आगो निभाउने प्रयास भइरहेको छ ।

अहिले रुपन्देहीसहित छिमेकी जिल्ला नवलपरासी पश्चिमका १२ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

डेल्टा कम्प्लेसको चौथो तल्लाबाट लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र स्थानीय बासिनदा जुटेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक लगायत किराना सबै प्रकारका सामान बिक्री हुँदै आइरहेको छ । आगलागी खेलकुदका सामग्री रहेको चौथो तलाबाट सुरु भएको सञ्चालक घनश्याम पाठकले बताउनुभयो ।

बुटवलको बीच भागमा रहेको डेल्टा आसपास ठुलाठुला भवन र मानव बस्ती छ । आगो निभाउनेभन्दा अरु घरमा आगो लाग्न नदिने उपायसहित सुरक्षाकर्मी खटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-२० , समय : २२:२९:०६ , १ महिना अगाडि