बुटवलको डेल्टा कम्प्लेक्समा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा

रुपन्देही खबर , ३०२  पटक हेरिएको

बुटवल, असार ७

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा लागेको आगो भवनका सबै सामान जलेर नष्ट भएपछी निभेको छ । विहीबार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्त्रणमा आएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनी कम्प्लेक्स भने पूर्ण रुपमा ध्वस्त भएको छ । मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी सुरु भएको थियो ।

झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्न मार्ट संचालनमा थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार कम्प्लेक्समा संचालित सम्पुर्ण पसल र सामानहरु झण्डै आठ घण्टा लागेको आगोले खरानी भएका छन ।

आगलागी पछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीका बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरी १३ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए।

कम्प्लेक्समा मार्टका गोदाम समेत रहेकोले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ । फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । चारैतर्फ प्यानलबोर्ड र सिसा जडान गरी निर्माण गरिएको कारण कम्प्लेक्सको चौथो तल्लाबाट सुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो।

कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तीनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगा घर र खाद्यान्न पसल थिए। बुटवलका ठूला व्यवासायी र शिक्षण पेशाका अगुवाहरुले ५ वर्ष पहिले संचालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुई वर्षदेखी नेपाली जुत्ता घर र नेपाली लुगा घरपनि संचालनमा थियो।

कम्प्लेक्समा संचालित विभिन्न पसल तथा फर्महरुमा २ सय बढीले रोजगारी पाएका थिए । आगलागी कहाँबाट सुरु भयो र कति क्षति भयो भन्ने पूर्ण विवरण संकलन गरिएको छैन। यद्यपि ५० करोड बढिको क्षति भएको डेल्टा कम्प्लेक्सका संचालक घनश्याम पाठकले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०६-२१ , समय : ११:५८:०१ , ४ महिना अगाडि