उर्मिला यादव यात्री , ७२४ पटक हेरिएको
भैरहवा , असार ९
ओमसतिया गाउपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। बुधबार साझ ४ बजे भएको नगरसभाको एघारौं अधिवेशनमा पालिका प्रमुख मन्जित कुमार यादवले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
गाउपालिका प्रमुख यादवले प्रस्तुत गर्नु भएको आर्थिक बिकास तर्फको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन , जमिनको वर्गीकरण गरि कृषियोग्य जग्गामा जग्गाको कित्ताकाट तथा खण्डिकरण गर्ने कार्यलाइ नियन्त्रण , ओमसतिया गाउपालिका फलफुलको बगैंचा भन्ने नाराका साथ एक घर एक फलफूल बिरुवा रोपण अभियान जस्ता नीति अघि सार्दै सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत नगरबासीको जीवनस्तरमाथि उकास्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने बताउनु भएको छ।
नीति कार्यक्रममा दलित ,जनजाति तथा एकल महिला र मिश्रित कृषकहरुको समुह बनाइ पशुपन्छि उत्पादन तथा आयआर्जनका लागि प्याकेज कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ भने आकस्मिक बाली संरक्षण कार्यक्रम तथा बाली उपचार शिविर , पशु स्वास्थ्य बाझोपन निवारण सम्बन्धि शिविर कार्यक्रम संचालन गरिने जनाइएको छ ।
नीति कार्यक्रममा ओमसतिया रामजानकी मन्दिरलाइ पर्यटन केन्द्रको रुपमा बिस्तार गर्नुका साथै स्थानीय मौलिक सस्कृतीमा आधारित होमस्टे सन्चालन गरिने र रामजानकी रंगशालालाई मर्मत सम्भार र स्तरन्नती गर्न बजेटको ब्यवस्थापन गरिने समेत उल्लेख छ ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यादवले ओमसतियालाइ विकास र समृद्धिको बाटोमा डोर्याउन भौतिक पूर्वाधार र मानवीय विकासलाई सँगसँगै अगाडि बढाउने नीति लिइएको बताउनु भएको छ । गाउपालिका प्रमुख यादवले सामाजिक बिकास तर्फ निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिका भित्र रहेका सामाजिक बिभेदहरुलाइ उन्मुलन गर्दै सशक्तीकरण गर्ने खालका अभियान एवम युवा तथा महिलालाइ उद्यमसील बनाउने लक्ष्य लिइएको बताउनु भएको छ ।
यस्तैगरि नवजात शिशु , बालबालिका ,गर्भवती तथा सुत्केरी महिलाको लागि पोषण कार्यक्रम संचालन गर्ने ,आगामी ३ बर्ष भित्र पोषणयुक्त गाउपालिका घोषणा गर्ने, जेष्ठनगरीक घरभेट तथा स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने लगायत बसन्तपुर प्राथमिक स्वास्थ्य चौकीमा २४ सै घन्टा इमर्जेन्सी स्वास्थ्यसेवा प्रदान गरिने गरि काम अगाडि बढाइने, सुविधा सम्पन्न १५ बेडको पालिका अस्पताल सञ्चालन गर्ने गरी ३ बर्ष भित्रमा अस्पताल निर्माण गरी संचालन गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
ओमसतिया गाउपालिका भित्रका विद्यालयमा गाउपालिका बाट प्रदान गरिने अनुदानलाइ शैक्षिक नतिजा संग आबद्ध गरिने निति लिइएको छ ।गाउपालिका लाइ ब्यवस्थित शहरी क्षेत्रको रुपमा बिकास गर्नका लागि प्रत्येक स्थानीय सडकहरुको राइट अफ वे निर्धारण गरी सोही अनुरुप भवन निर्माणको नक्सापास प्रक्रियालाइ ब्यवस्थित गरिने बताइएको छ ।
गाउपालिकाको सामुदायिक विद्यालयहरुमा कम्प्युटर, प्रीन्टर ,ईन्टरनेट जस्ता आधारभुत सेवा उपलब्ध गराउने लगायत पुर्वाधार बिकास , वातावरण तथा बिपद ब्यवस्थापन , राजस्व परिचालन र सुशासन तथा सेवा प्रवाह लगायत विषयमा निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने भोलि १० गते शुक्रवार गाउपालिकाले आफ्नो बजेट प्रस्तुत गर्ने जनाएको छ ।
प्रकाशित मिति: २०२२-०६-२३ , समय : १६:२३:३८ , २ वर्ष अगाडि