रुपन्देही खबर , ४१ पटक हेरिएको
भैरहवा, असोज २६
रुपन्देहीको भैरहवामा आइतबारदेखि ‘भैरहवा दशैं महोत्सव–२०८३’ सुरु भएको छ। लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा सिद्धार्थनगर नगरपालिका–४ स्थित गल्लामण्डी (सुगरमिल) रोडमा सुरु भएको महोत्सव कात्तिक ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सव उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधनले दशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर महोत्सव सुरु हुनु शुभ भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रममार्फत स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउनुपर्ने धारणा राख्नुभयो।
“सामाजिक कार्यसँगै स्थानीय व्यवसायलाई चलायमान बनाउन लायन्स भैरहवा लिगेसीले जमर्को गरेको छ,” उहाँले भन्नुभयो, “यो क्लबसँग सफलतापूर्वक महोत्सव सम्पन्न गरिसकेको अनुभव छ।”
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालकी फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर मीना पन्थीले महोत्सव आयोजनाको प्रयास उदाहरणीय रहेको बताउनुभयो। हरेक काममा चुनौती भए पनि दृढ इच्छाशक्ति र प्रयासबाट सफलता प्राप्त गर्न सकिने उहाँको भनाइ थियो।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव (भोला) ले महोत्सव आयोजनामा आफ्नो साथ र सहयोग रहने बताउनुभयो। उहाँले भैरहवामा स्थायी मण्डप निर्माणका लागि नगरपालिकाको सम्पूर्ण टोलीले पहल गर्नुपर्नेमा जोड दिनुभयो।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले भैरहवामा स्थायी मण्डप नहुँदा आयोजकले जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। स्थायी मण्डप निर्माण भएमा यस्ता कार्यक्रम आयोजना गर्न सहज हुने उहाँको भनाइ थियो।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले स्थानीय आर्थिक तथा सामाजिक गतिविधि प्रवर्द्धन गर्न यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
लायन्स क्लब अफ भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले चार वर्षपछि पुनः महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार दुई दिनअघि नै उद्घाटन गर्ने तयारी भए पनि सडक खाना महोत्सव आयोजना भएकाले मिति केही दिन सारिएको थियो।
क्लबका निवर्तमान अध्यक्ष एवं महोत्सव संयोजक राजन शुक्लाले महोत्सव कुनै एउटा क्लबको मात्र नभई सबैको साझा कार्यक्रम भएको बताउनुभयो। महोत्सव सफल बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–४ स्थित आमा समाजका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो।
महोत्सवको आयोजकमा जय माता दी एम्युजमेन्ट एन्ड इभेन्ट प्रालि, सहआयोजकमा मायादेवी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका–४ को वडा कार्यालय र लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल रहेका छन्। सिद्धार्थनगर नगरपालिका संरक्षक रहेको महोत्सवको व्यवस्थापन राधाकृष्ण एम्युजमेन्ट एन्ड म्यानेजमेन्ट प्रालिले गरेको छ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारका साथै स्थानीय र भोजपुरी क्षेत्रका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई एक सय रुपैयाँ र विद्यार्थीलाई परिचयपत्रका आधारमा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
प्रकाशित मिति: २०२६-१०-१२ , समय : १५:५६:५८ , ६० मिनेटutes अगाडि