महिलालाई नेतृत्वदायी पदमा अवसर दिनुपर्नेमा जोड

,धकधईमा महिलावादी अनुपम अभियानको कोणसभा

रुपन्देही खबर , ३६  पटक हेरिएको

भैरहवा, असोज २६

महिलाको राजनीतिक प्रतिनिधित्व बढाउँदै राज्यका निर्णय गर्ने तहमा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै देशव्यापी महिलावादी अनुपम अभियानले रुपन्देहीको धकधईमा कोणसभा गरेको छ। आइतबार आयोजित कार्यक्रममा वक्ताहरूले महिलालाई नेतृत्वदायी पदमा अवसर दिन, उनीहरूको क्षमता पहिचान गर्न र नेतृत्व विकासमा सामाजिक सहयोग बढाउनुपर्ने बताएका छन्।

कार्यक्रममा अभियानबारे जानकारी दिँदै अभियन्ता दिपा धितालले स्थानीय तहमा महिलाको निर्वाचित सहभागिता रहे पनि प्रमुख पदमा उनीहरूको उपस्थिति सीमित रहेको बताउनुभयो। महिलाको प्रतिनिधित्व निर्वाचित पदमा मात्र सीमित नभई निर्णय प्रक्रियामा समेत प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै उहाँले महिलाको क्षमता विकास र राजनीतिक सहभागिता सशक्त बनाउने उद्देश्यले पाँचवर्षे अनुपम अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। धितालले महिलालाई नेतृत्वमा स्थापित गर्न विभिन्न क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै यसका लागि सामाजिक सहकार्य र समान अवसर आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा धनेश्वरी चौधरीले महिलालाई नेतृत्वमा अघि बढाउन परिवार, समाज र पुरुषको साथ तथा विश्वास आवश्यक रहेको बताउनुभयो। महिलाले घरपरिवार व्यवस्थापनदेखि सामाजिक जिम्मेवारी निर्वाहसम्म महत्त्वपूर्ण भूमिका खेल्दै आए पनि नेतृत्वको अवसरमा विभेदपूर्ण सोच कायम रहेको उहाँको भनाइ थियो।

“महिलालाई विश्वास गर्नुहोस्, अवसर दिनुहोस्। महिलालाई अगाडि बढाएर फेरि पछाडि तान्ने होइन, नेतृत्वमा अघि बढ्न सहयोग गर्नुपर्छ,” चौधरीले भन्नुभयो। उहाँले महिला र पुरुषको सहकार्यबाट मात्रै समाज परिवर्तन सम्भव हुने उल्लेख गर्दै महिलालाई जिम्मेवारी निर्वाह गर्ने अवसर दिन आग्रह गर्नुभयो।

त्यसैगरी, पूर्णिमा रौनियारले महिलालाई सीमित क्षेत्रमा मात्र नभई राज्यका विभिन्न निकाय तथा नेतृत्वदायी पदमा अवसर दिनुपर्ने बताउनुभयो। महिलालाई सरकारी जिम्मेवारीमा अघि बढाउन सबै पक्षले सहयोग र समर्थन गर्नुपर्ने उल्लेख गर्दै उहाँले महिला नेतृत्वले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सकारात्मक योगदान पुर्‍याउन सक्ने धारणा राख्नुभयो।

महिलाको क्षमता र नेतृत्वमाथि विश्वास गर्दै राज्यका महत्त्वपूर्ण पदमा अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिँदै रौनियारले महिलाको सहभागिताले शासन व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कोणसभामा महिलाको राजनीतिक सहभागिता बढाउने, नेतृत्व विकास गर्ने र निर्णय प्रक्रियामा पहुँच विस्तार गर्ने विषयमा वक्ताहरूले धारणा राखेका थिए।

 

प्रकाशित मिति: २०२६-१०-१२ , समय : ११:५०:२७ , १ घन्टा अगाडि