सुनवल नगरपालिकामा ९६ करोड, ३९ लाख, २६ हजार बराबरको बजेट प्रस्तुत

गौरीशंकर जयसवाल , २६८  पटक हेरिएको

सुनवल , असार ११

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक बर्ष २०७९।८० पूर्वाधार,कृषि स्वास्थ्य शिक्षा र महिलाहरुको क्षेत्रलाई बिशेष प्राथमिकता राखेको छ । सामाजिक सुरक्षा,सुशासन न्याय बिकास र समानता समृद्ध नगर सुखी नगरबासी हाम्रो प्रतिबद्धता मुल नाराका साथ नगरपालिकाले एघारौ नगरसभामा नगरपालिकाले सम्पन्न गरेको हो । पूर्वाधार,कृषि स्वास्थ्य शिक्षा र महिलाहरुको क्षेत्रलाई बिशेष प्राथमिकता राखेर बजेट बिनियोजन गरिएको नगरप्रमुख विमला अर्यालले जानकारी दिनु भएको छ ।


नगरको आगामी आ.व .को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अर्यालले समाजिक विकास तर्फ नगर भित्रका महिलाहरुको सर्वाङ्गिण विकासका लागि नगर प्रमुख महिला उत्थान कार्यक्रम, तथा महिला तथा बालबासलकासंग मेयर कार्यक्रम संचालन गर्ने नगरलाई ५ वर्ष भित्रमा पूर्ण रुपमा महिला हिंसामुक्त नगर घोषणा गरिने, हिंसापिडित महिलाहरुलाई संरक्षणका लागि सेप हाउस निर्माण, बालमैत्रि अभिलेखालय, वडामा समस्याग्रस्त महिला उद्धार तथा संरक्षण र परामर्श कार्यक्रम संचालन गर्ने बताउनु भएको छ।

उहाले वडा तहमा महिला सेल गठन, विपन्न विद्यार्थिको उच्च शिक्षाका लागी नगरप्रमुख छात्रबृति कोष स्थापना , गरिवसंग उपमेयर कार्यक्रम, बडेरा, किर्तिपुर,बनाहा,हर्दिया र सिरानटोलमा नगर स्तरका खेलमैदान तयार गरिने र कम्तीमा २ वटा नगरस्तरीय कवर्डहल निर्माण कार्य अघि बढाईने निती तथा कार्यक्रममा उल्लेख गर्नु भएको छ ।

 

वडामा ध्यान केन्द्र संचालन, नगरमै डायलायसिस सेवा केन्द्र स्थापना, आगामी ५ वर्ष भित्र पुर्ण पोषणको सुनिश्चितता गरी सुनवललाई पोषणमैत्री नगरपालिका घोषणा गरीने , आगामी आव देखी ५ हजारलिटर सम्म खानेपानी प्रयोग गर्ने उपभोक्ताको पानी महसुल छुट गर्ने व्यवस्था र विपन्न वर्गका नागरीकहरुलाई निशुल्क धारा जडानको व्यवस्था, सुनवललाई ग्रिन सिटिको रुपमा विकास गर्न ग्रिन सुनवल क्लीन सुनवल कार्यक्रम संचालन तथा आगामी ४ वर्ष भित्र वातावरणमैत्री नगर निर्माण, वडा न. ४ मा दिर्घकालिन बहुउदेश्यिय ल्यान्डफिल साईट निर्माण कार्य प्रारम्ँभ गरिने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै आर्थिक विकासतर्फ रोजगारी प्रर्वधनका लागि नगरमा एक स्वरोजगार कोषको स्थापना, लघु उद्यम र उद्यमशिलता विकास सम्बन्धि कार्यक्रम संचालन, एक व्यक्ति एक तालिम एक व्यवसायको निति अवलम्बन गरीनेछ । नगर भित्र चाडपर्वमा हुने फुलको आयातलाई न्यूनिकरण गर्दै फुलमा आत्मनिर्भर बनाउने, महल पोखरी होमस्टेमा २ वटा नमुना होमस्टेको विकास तथा संचालन, विभिन्न पर्यटकिय,ऐतिहासिक ,पुरातात्विक स्थलको संरक्षण र संर्वद्धन र पुनः निर्माण गरीने लगायत उल्लेख छ ।

यस्तै पुर्वाधार क्षेत्रतर्फ नगर चक्र पथ निर्माण, नगरका महत्वपुर्ण स्थानहरु फ्रि वाईफाई जोन बनाउने, योजना बैँक, दुर्घटना र अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थित र जनमैत्रि बनाउन नगरपालिका क्षेत्रभित्रका बजार तथा चोक चौराहामा सवारी पार्किङ्ग स्थलको व्यवस्था लगायतका रहेका छन् ।

यस्तै राजस्व प्रसासन तर्फ स्थानिय आय स्रोत बृद्धिका लागि नदिजन्य बस्तु उत्खनन्, निकासी र विक्रि वितरणका लागि अध्ययन अनुसन्धानमा आधारित बैज्ञानीक विधि अवलम्बन गरिने , नदिजन्य प्राकृतिक स्रोतको दिगो उपयोग नीतिलाई कार्यान्वयन गरिने, करका दर र दायरा समयानुकुल समायोजन गरीने अनलाईन कर तिर्ने,आफ्नो कर सम्बन्धि सम्पुर्ण जानकारी पाउने व्यवस्था मिलाइने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अर्यालले गर्नु भएको थियो ।

एघारौ नगरसभामा उपप्रमुख सूर्यदुबेले नगरपालिकाले आव २०७९÷८० का ९६ करोड, ३९ लाख, २६ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । एघारौ नगरसभामा उपप्रमुख सूर्यदुबेले कुल बजेटको चालु खर्च तर्फ ४१ करोड ८५ लाख ६९ हजार अर्थात् ४३.४२ प्रतिशत र पूँजीगत खर्च तर्फ ५४ करोड ५३ लाख ५७ हजार अर्थात् ५६.५८ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनु भएको छ ।

आय तर्फ संघिय सरकार समानिकरण अनुदान, शर्शत अनुदान, विशेष अनुदान, समपुरक अनुदान र अन्य अनुदानबाट ४९ करोड, ९ लाख, प्रदेश सरकार समानिकरण अनुदान, शर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदानबाट ४ करोड ८२ लाख ८१ हजार, राजस्व बाडँफाडँबाट २२ करोड, १२ लाख ६८ हजार, आन्तरिक स्रोतबाट १४ करोड र गत वर्षको ६ करोड ३४ लाख ७७ हजार रहेको छ ।

 

त्यस्तै सामाजिक बिकासतर्फ ३४ करोड ६१ लाख ९३ हजार,आर्थिकतर्फ पाँच करोड बीस लाख चार हजार बजेट बिनीयोज गरिएको उपप्रमुख दुबेले बताउनु भएको छ । पूर्वाधारतर्फ ३५ करोड ८० लाख ९० हजार ,बन तथा बातावरण तथा बिपत व्यवस्थापनमा तर्फ २ करोड ३६ लाख ६३ हजार र संस्थागत बिकास, सेवा प्रवाह र सुशासन तर्फ २ करोड ७५ लाख बजेट बिनियोन गरिएको उपप्रमुख दुबेले जानकारी दिनुभएको छ ।

 

सभामा नगर उपप्रमुख सुर्य प्रसाद दुवे,प्रमुख प्रशासकिय अधिकृत अशोक कोईराल, नगरका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: २०२२-०६-२५ , समय : ०९:४१:४४ , २ वर्ष अगाडि