लुम्बिनीको मुजहनाबाट १ सय १२ बोरा चिनी बरामद

रुपन्देही खबर , २९७  पटक हेरिएको

भैरहवा , कार्तिक २३

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाइ र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भीडले बाटो अवरुद्ध गरी ढुङ्गामुढासमेत प्रहार गरेका थिए । त्यसलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भीडलाई तितरबितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।

भीडले ढुङ्गामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति: २०२४-११-०८ , समय : १६:५२:३२ , ४ हप्ता अगाडि