रुपन्देही खबर , ८२ पटक हेरिएको

पोखरा, बैशाख ३०
कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बुद्ध पूर्णिमाको विशेष कार्यक्रम सहित धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको छ । महायज्ञको आठौँ दिनमा १०० जना बटुकहरुको समुहिक ब्रतबन्ध सम्पन्न भएको छ भने हालसम्म करिब ५०० जना बटुकहरुको ब्रतबन्ध गरिसकिएको छ । त्यसैगरी, १०० जना जेष्ठ नागरिक आमा–बुवाहरूको चौरासी पूजासमेत विधिपूर्वक सम्पन्न गरिएको छ। चौरासी पूजामा सहभागी जेष्ठ नागरिकहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै वैदिक विधिअनुसार पूजापाठ गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल बिशेष अतिथिमा किरात धर्मगुरु चन्द्रकुमार शर्मा रहनु भएको थियो । महायज्ञलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङ्देलले धर्मको नाममा राजनीति गर्नु आमाको रगत खानु सरह भएको कडा टिप्पणी गर्नु भएको छ । उहाले धर्मलाई संकीर्णताको रुपमा नबुझ्न र समाज रुपान्तरणको माध्यमका रुपमा लिनुपर्नेमा जोड दिनु भएको छ । “धर्म भनेको जीवनशैली हो, यसलाई शक्ति, पद र स्वार्थको हतियार बनाउनु दुर्भाग्यपूर्ण हो,” लिङ्देलले भन्नू भयो ।
कोटिहोममा प्रतिनिधी सभा संघीय संसद अन्तर्गतका महिला तथा सामाजिक मामिला समितिका सभापति तथा संस्कृत भाषामा सपथ लिने एकमात्र सांसद किरण कुमार शाहको पनि उपस्थिति रहेको थियो। उहाले धार्मिक शिक्षा र संस्कारको प्रवर्द्धनमा यस्तो यज्ञले सकारात्मक भूमिका खेलेको बताउँदै महिलाहरूको समेत सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गर्नु भयो ।
यसैक्रममा, गण्डकी प्रदेश सरकारकी सचिव कमला दाहालले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपांग व्यक्तिका लागि संरक्षित आवासका रुपमा यो आश्रम सञ्चालन गरिने बताउँदै सामाजिक उत्तरदायित्वका कार्यमा सरकार प्रतिबद्ध रहेको प्रस्ट पार्नु भयो ।
कास्की जिल्लामा १३ रोपनी जग्गामा ‘मामाघर आश्रम’ स्थापना गरिने विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जीले समेत जानकारी दिनु भएको छ ।
श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबार देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गर्नु भएको छ । पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन सुरु गर्नु भएको छ। उहाले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ।
नियमित हुने रक्तदान कार्यक्रममा सोमबार २८ यूनिट संकलन भएको छ भने सोमबार सम्म जम्मा २७५ यूनिट रगत संकलन भएको छ। कोटिहोममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देलले पनि रक्तदान गर्नु भएको छ । कोटिहोम आउने भक्तजनले आफू सक्ने सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको मानब सेवा फाउण्डेशनका प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनु भएको छ । संयोजक ढकालका अनुसार सोमबार करिब २० हजार भक्तजनको सहभागिता रहेको थियो ।
महायज्ञमा गण्डकी प्रदेशका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत लगायत अन्य देशबाट समेत हजारौँ श्रद्धालुहरूको उपस्थित रहेको छ। महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन भएको थियो । यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले उपस्थिति रहेको थियो।
विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्नू भएको थियो।
प्रकाशित मिति: २०२५-०५-१३ , समय : १९:५०:३२ , ८ घन्टा अगाडि