रुपन्देही खबर , ११३ पटक हेरिएको

भैरहवा, जेठ २
रुपन्देही प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ का ३८ वर्षिय दिनेश बनिया, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का ४६ वर्षिय मसिउद्दिन फकिर र भारतको नौतनवाका ५० वर्षिय कृष्ण अग्रहरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दिनेश बनियालाई सिद्धार्थनगर नगरपालिका–५ स्थित बैंकरोडबाट पक्राउ गरेको बताउनु भएको छ। डीएसपी कार्कीका अनुसार गोप्य सूचनाको आधारमा बैंकरोडमा लु ६८ प ४७९ नम्बरको मोटरसाइकल रोकेर शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बनियाको साथबाट १३ लाख ८५ हजार रुपैयाँसहित उनलाई पक्राउ गरिएको हो ।
त्यस्तै बिहीबार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१२ बाट मसिउद्दिन फकिरलाई पक्राउ गरेको हो । हुण्डीको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा फकिरलाई रोकी खानतलासी गर्दा उनले बोकेको झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा ३ लाख ८६ हजार २ सय रुपैयाँ र एकथान मोबाइलसहित पक्राउ गरिएको डीएसपी कार्कीले बताउनु भयो ।
त्यसै गरी बिहीबार नै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर–१२ बाट कृष्ण अग्रहरीलाई पक्राउ गरेको हो । हुण्डी कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा युपी ५६ जे १६५३ नम्बरको मोटरसाईकल शंका लागि चेकजाँच गर्ने क्रममा र अग्रहरीको शरीर र उनले बोकेको झोला खानतलासी गर्दा अग्रहरीको साथबाट ८ लाख ३९ हजार ४ सय ५० र एकथान मोबाइलसहित पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिनु भएको छ ।
पक्राउ गरिएका तीनैजनालाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट हुण्डी सम्बन्धि कारोबार गर्न नहुने कसूरमा ७ दिन म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०५-१६ , समय : ०४:३०:१३ , ३ घन्टा अगाडि