लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु

पर्यटक टिक्नेगरी सेवामूलक क्षेत्रको विकास गर्नुपर्नेमा जोड

रुपन्देही खबर , ९४  पटक हेरिएको

लुम्बिनी, जेठ १७

लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रीत रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको छ ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको भन्दै त्यसलाई विश्वव्यापी बनाउनुपर्ने बताउनु भएको छ । उहाले यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको बताउनु भएको छ ।

लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जानकारी समेत दिनु भयो । लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ । तसर्थ, लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

सम्मेलनमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले पर्यटन प्रवर्द्धनका लागि पर्यटक लोभिने क्षेत्र र बस्ने सेवा सुविधा आवश्यक रहने बताउनु भएको छ । लुम्बिनीको विकासमा पर्यटन शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्नु भएको उहाले पर्यटक रम्न सक्ने प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक संरचना नहुँदासम्म पर्यटनको विकास हुन नसक्ने जोड दिनु भयो ।

सूचना प्रविधिको उच्चतर प्रयोग गर्दै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारतीय पर्यटकको कार्यथलो हुनेगरी सेवा मूलक पूर्वाधारको आवश्यकता रहेको उहाले बताउनु भयो । छिमेकी मूलुक भारतका आईटी कामदारहरुलाई लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बसेर काम गर्ने वातावरण बनाउन सकिन्छ, उहाले भन्नु भयो , भरपर्दो विध्दुत र इन्टरनेट अनि बस्ने होटल राम्रो भए धेरै पर्यटक आउन सक्छन ।

लुम्बिनी प्रदेशको प्रमुख गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी भएको यसको प्रर्वद्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचार बढाउनुपर्ने उहाले बताउनु भयो । उहाले सडक मात्रै आर्थिक विकास नभएकाले अन्य क्षेत्रमा सरकारको बजेट विनियोजन हुनुपर्नेमा जोड दिनु भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवद्र्धनात्मक कार्यक्रम बनाइरहेको बताउनु भयो । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उहाले बताउनु भएको छ ।

उपकुलपति बज्राचार्यले प्रदेश सरकार र विश्वविद्यालयबीच समन्वय आवश्यक रहेको भन्दै सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिनु भयो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले समग्र लुम्बिनीको पर्यटन विकासका लागि प्रदेश सरकारले प्राधिकरण स्थापना गर्ने नीति लिएको बताउनु भएको छ । उहाले लुम्बिनी विश्वकै लागि महत्वपूर्ण स्थान भएकाले यसमा प्रदेश सरकारको समेत भूमिका बलियोगरी स्थापना हुँदा पर्यटन प्रवद्र्धनमा सहयोग हुने बताउनु भएको छ ।

प्रदेश सरकार, विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालयसहितका संस्थाहरुको सहकार्यमा लुम्बिनीको प्रवद्र्धन महत्वपूर्ण रहने उनले बताउनु भएको छ। उहाले लुम्बिनीमा रहने पर्यटक गाइड पनि कुनै निकायबाट सूचिकृत रहेको बताउनुपर्ने बताउनु भयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयका अनुसन्धानहरु सरकारका नीति योजनामा पर्नेगरी अनुसन्धानमूलक कार्य गर्न आवश्यक रहेको औल्याउनु भएको छ ।

लुम्बिनीसहित प्रदेशका पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सम्भावना पहिचान तथा विकासका लागि विश्वविद्यालयले अनुसन्धान गर्ने भन्दै प्रदेश सरकारसंग सहकार्यका लागि विश्वविद्यालय तयार रहेको बताउनु भएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा बौद्ध दर्शन, आर्थिक विकास तथा पर्यटनसंग सम्बन्धित रहेर सात वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन सोमबार सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति: २०२५-०५-३१ , समय : ०७:१७:५८ , २ दिन अगाडि