एमाले अझै २०५१ कै कार्यक्रम बेच्दैछ :भीम रावल

पप्पु रेग्मी , ११३  पटक हेरिएको

बर्दघाट,जेठ २३

मातृभूमि जागरण नेपालका प्रस्तावक तथा पूर्व गृहमन्त्री डा. भीम रावलले नेकपा एमालेले अझै २०५१ सालमा अल्पमतको सरकारले ल्याएको कार्यक्रमको प्रचारबाजी गरिरहेको आरोप लगाउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाट–१० स्थित माैराहाटाँडिमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै, रावलले एमालेको पछिल्ला गतिविधिहरू नयाँ भन्दा पनि पुरानै योजनाको घुमाउरो प्रचारमा सीमित रहेको बताउनुभयाे ।

एमाले अध्यक्ष के. पी. शर्मा ओलीलाई पार्टी सञ्चालन सम्बन्धी सकारात्मक सुझाव दिँदा तितो लागेर आफूलाई पार्टीबाट निष्कासन गरिएको दाबी गर्दै, “अब मातृभूमिको रक्षाका लागि ‘जागरण नेपाल’ कार्यक्रम मार्फत भ्रष्टाचार, ढिलासुस्ती, र अनियमितता विरुद्धको अभियानमा लागेको छु,” रावलले प्रष्ट पार्नुभयाे।

एमालेका पूर्व उपाध्यक्ष समेत रहनु भएको रावलले पार्टी एकताका लागि झलनाथ खनाल र माधव नेपाललाई साथ लिएर अघि बढ्दा पद र स्वार्थका कारण पार्टी विभाजनमा पुगेको समेत खुलासा गर्नुभयाे ।

कार्यक्रममा संविधान सभा सदस्य सिन्धु जलेसा, नन्द प्रसाद सुवेदी, भरत पाण्डे, टोप बहादुर सिंह लगायतले पार्टीसँग सम्बन्धित विविध जिज्ञासा राख्नुभएको थियो ।सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै रावलले आफू राष्ट्रव्यापी दौडाहामा रहेको जनाउँदै,“इमानदार, कर्तव्यनिष्ठ र राष्ट्रभक्त नागरिकहरूलाई यस अभियानमा निडर रूपमा सहभागी हुन” आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: २०२५-०६-०६ , समय : ०५:४८:१५ , २० घन्टा अगाडि