नवलपरासीको सुनवल २ मा कोदालो प्रहारबाट २ जनाको हत्या

रुपन्देही खबर , १४८  पटक हेरिएको

सुनवल, जेठ २३

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ अवरहियामा कोदालो प्रहारबाट २ जनाको हत्या भएको छ । आज बिहान करिब साढे १० बजेको समयमा सुनवल २ कै २७ बर्षिय हेमराज थारुले कोदालो प्रहार गरी आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । त्यसलगत्तै उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा कोदालो प्रहार गरेको स्थानीयलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिनु भएको छ ।

घटनाबारे जानकारी पाउन साथ प्रहरी टोली उक्त स्थानमा पुगेको र हत्यामा संलग्न हेमराजलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक पौडेलले बताउनु भयो ।

हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको र हेमराजलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाईएको सुनवल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०६-०६ , समय : १३:३३:२९ , १५ घन्टा अगाडि