रुपन्देही खबर , ३२८ पटक हेरिएको
भैरहवा,जेठ २५
वैदेशिक रोजगार विभाग, कोरियन इपिएस शाखा काठमाडौँको आयोजनामा रोजगार अनुमति प्रणाली (EPS) मार्फत दक्षिण कोरिया जान इच्छुक नेपाली नागरिकहरूका लागि कोरियन भाषा परीक्षा (EPS TOPIK – UBT) मर्यादित, पारदर्शी र निष्पक्ष ढंगले सञ्चालन गर्ने विषयमा जानकारी दिन तथा EPS प्रणालीबाट कोरिया जानेसम्बन्धी सम्पूर्ण प्रक्रियाका विषयमा जनप्रतिनिधिहरू, रोजगार संयोजकहरू तथा अन्य सरोकारवालासँग परामर्श तथा छलफल कार्यक्रम भैरहवामा सम्पन्न भएको छ।

कार्यक्रममा वैदेशिक रोजगार विभाग, कोरियन EPS शाखाका निर्देशक राजेश राईको अध्यक्षतामा तथा संविधानसभा सदस्य एवं सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख श्री इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख खानले विदेशमा रोजगारीका लागि जानु पूर्व आवश्यक सीप तथा ज्ञान हासिल गर्नु अपरिहार्य रहेको, साथै विदेशमा आर्जित ज्ञान, सीप तथा पुँजीलाई स्वदेश फर्किएपछि स्वरोजगार सृजना तथा उद्यमशीलता प्रवर्द्धनमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको जोड दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जनक थापा, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, शाखा प्रमुखहरू तथा रुपन्देही जिल्लाका पालिकाहरुमा कार्यरत रोजगार संयोजक र सम्बन्धित विषयका विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई दक्षिण कोरियामा उपलब्ध रोजगारका अवसरहरू, कोरियन भाषा परीक्षा प्रणाली, परीक्षासम्बन्धी प्रक्रिया, कामदारहरूले पालन गर्नुपर्ने नियम तथा कोरियामा कार्यरत रहँदा लागू हुने सेवा–सर्तबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
प्रकाशित मिति: २०२५-०६-०८ , समय : १८:२७:४१ , ७ महिना अगाडि