सिद्धार्थनगर वडा नम्बर ९ मा बाद्यबादन तालिम सम्पन्न

उर्मिला यादव यात्री , २१६  पटक हेरिएको

भैरहवा, जेठ २७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ ले वडामा सुचीकृत रहेका आमा तथा महिला समुहहरुका लागी सात दिने बाद्यबादन तालिम सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षता तथा नगर उपप्रमुख उमा अधिकारीको प्रमुख आथित्यतामा कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित एकहप्ते मादल बजाउने तालिमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्नु हुदै नगर उपप्रमुख अधिकारीले महिलालाई वाद्यवादनको सीप सिकाएर कला, संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको बताउनु भएको छ । उहाले मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले यसलाई भुलिसकेको बताउदै मौलिक कला, संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जोड दिनु भयो । उपप्रमुख अधिकारीले यसले कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन हुनुका साथै स्वरोजगारका अवसर सिर्जना हुने विश्वास ब्यक्त गर्नु भएको छ ।

बेरोजगार महिला गाउँ, टोल, समाज र ग्रामीण क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मादल बजाएर पनि आयआर्जन गर्न सकून् भन्ने मुख्य उद्देश्य रहेको बताउदै हरेक कार्यक्रम र सभा समारोहमा कलाकार बोलाउने र आधुनिक गीत बजाएर मनोरञ्जन गर्ने प्रचलन हाबी भएकाले मौलिक संस्कृतिको जगेर्नाका लागि तालिम दिएर महिलालाई यसतर्फ आकर्षित गर्न खोजिएको उपप्रमुख अधिकारीको भनाइ छ । सात दिनसम्म संचालन भएको तालिमबाट सिकेका सीपलाई ब्यवहारमा उर्तान आग्रह समेत गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीले लोकसंस्कृतिको संरक्षणका लागि मादल बजाउने तालिम सञ्चालन गरेको बताउनुभएको छ । स्थानीय बाजा संरक्षणमा पालिकाका लागि परेको बताउँदै अध्यक्ष भण्डारीले यस्ता किसिमका तालिमले स्थानीय मौलिक बाजा संरक्षणमा भूमिका खेल्ने बताउनु भएको छ । उहाले गाउँघरमा हुने विवाह, व्रतवन्ध लगायत विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रममा स्थानीय मौलिक बाजा प्रयोग हुने हुँदा यस्ता तालिमले लोकसंस्कृति संरक्षणमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।

समापन कार्यक्रममा गोलीगढ आमा समूहबाट कमला गौतम, सिद्धार्थ सिर्जनशील महिला समूहबाट लक्ष्मी पन्त,कान्तिपुर आमा समूहबाट नमिता खनाल लगायतले बोल्दै सिनपा वडा नम्बर ९ ले दिएको बाद्यबादन तालिमबाट सिकेका कुराहरु ब्यवहारमा उतार्ने बताउदै संस्कृतिको संरक्षण, प्रवद्र्धनसँगै वाद्यवादनको संरक्षणमा पनि महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्धता गर्नु भएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर ९ का वडा सचिव अब्दुल रसिद पठान, वडा सदस्यहरु बसुन्धरा शर्मा पोखरेल, युवराज बराल, सबिता हरिजन, बसन्त प्रसाद भटटराई लगायत ३० जना भन्दा बढी आमा तथा महिला समुहहरुको सहभागिता रहेको थियो । तालिम जेठ १९ गते देखि २६ गते सम्म संचालन भएको थियो ।

प्रकाशित मिति: २०२५-०६-१० , समय : ०८:५०:५२ , ३ हप्ता अगाडि