सिनपा ४ मा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

रुपन्देही खबर , १४०  पटक हेरिएको

भैरहवा,  असार ९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका  वडा नम्बर ४  कार्यालयले विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा.का., रुपन्देहीको सहयोगमा आइतबार वडा कार्यालयमा कार्यक्रम सम्पन्न  भएको हो ।

 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले मानव सेवा नै धर्म भएको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि सशस्त्र प्रहरीसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा विपद् व्यवस्थापन समिति संयोजकसमेत रहनुभएको यादवले कतिबेला विपद् आउँछ भन्ने जानकारी नहुने भएकाले पूर्वतयारी र सतर्कता आवश्यक रहेको बताउनुभएको हो ।

यस्तै गरि सशस्त्र प्रहरी निरीक्षक दीपक बहादुर लामिछानेले स्थापनाकालदेखि नै सशस्त्र प्रहरीले महामारी र विपद्मा रातदिन नभनी खट्दै आएको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले अभियानकै रुपमा वडावडामा विपद् सूचक टीम गठन गरेको जानकारी दिनुभयो । उहाँले कुनै विपद् आइहाले तत्काल सशस्त्र प्रहरीलाई सूचना दिन आग्रह गर्नुभएको छ ।

‘नागरिकको सेवामा हामी तत्पर छौं, विपद बाट  कसरी सुरक्षित रहनेबारे जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुनेमा विश्वस्त छौं, ’उहाँले भन्नुभयो । कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरिएको वडा सचिव धनेश चन्द्र गुरुङले बताउनुभयो ।

 

वडा सदस्य सईद अहमद धुनियाको अध्यक्षता, कार्यक्रम संयोजक एवं वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा सहायक कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवाको पनि सहयोग रहेको थियो ।

 

 

प्रकाशित मिति: २०२५-०६-२३ , समय : ०६:३०:०४ , ४ दिन अगाडि