रुपन्देही खबर , ३६ पटक हेरिएको

भैरहवा, असार १६
रुपन्देहीको भैरहवामा ‘खुला सीमा ः परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था’ विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल भारत खुला सीमा संवाद समूह, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख वक्ता समूहका केन्द्रीय अध्यक्ष डा. राजीव झाले कार्यपत्र प्रस्तुत गर्दै नेपाल र भारतबीचको खुला सीमा केवल भौगौलिक विशेषता नभइ ऐतिहासिक र साँस्कृतिक सम्बन्धको जिउँदो प्रतीक भएको बताउनुभयो । ‘हाम्रो परम्परा, भाषा, भेषभुषा, खानपान, धर्म, रितिरिवाज र पारिवारिक नातागोता यति घनिष्ट छ कि यी सम्बन्धलाई कृत्रिम रुपमा छुट्याउनु असम्भव जस्तै छ । खुला सीमाले दशकौंदेखि पारिवारिक, सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाइराखेको छ, ’उहाँले भन्नुभयो ।
उहाँले आजको परिवेशमा खुला सीमामा देखिएका सुरक्षा चुनौती, जनसंख्या चाप, अवैध गतिविधि, आपराधिक दुरुपयोगको विषयले नयाँ बहस जन्माएको उल्लेख गर्नुभयो । उहाँले यी चुनौतीको समाधान आपसी सहकार्य र विश्वासको माध्यमबाट खोजिनुपर्ने धारणा राख्नुभयो । ‘सीमा क्षेत्रका नागरिकहरुको जिन्दगी, रोजगारी, व्यापार, शिक्षादेखि स्वास्थ्य सेवासम्म खुला सीमाले नै सहज बनाएको यथार्थ हामीले स्वीकार गर्नैपर्छ, परस्पर निर्भरता भनेको केवल आर्थिक सवाल मात्र होइन–यो हाम्रो साझा संस्कृति र इतिहासको संवाहक पनि हो, ’उहाँले भन्नुभयो ।
वर्तमान समयमा नेपाल–भारत दुवै देशको नीतिगत प्राथमिकतामा सीमा व्यवस्थापन सुधार, सहकार्य, सूचना आदानप्रदान र आपसी सम्मानको भावनाले भरिएको नीति अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । त्यसैले खुला सीमाको व्यवस्थापनमा नागरिकको सहभागीता, जनसंवाद र दीर्घकालीन सहकार्यको महत्वलाई अझ बलियो बनाउँदै लैजानु आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै संविधान सभा सदस्य तथा पूर्वमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले नेपाल–भारतबीच भाषा, धर्म र संस्कृतिको सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुई देशका धेरै समस्या राजनीतिक रुपमा समाधान गर्न सकिने बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले खुला सीमालाई अवसरको रुपमा लिदै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतीय पर्यटकलाई ठाउँठाउँमा प्रहरी–प्रशासनबाट दुःख दिने काम भएको र यसबारे आफूले पटकपटक सदनमा आवाज उठाएको बताउनुभयो ।
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले सीमा क्षेत्रका बासिन्दा झनै पीडित भएको बताउनुभयो । उहाँले बोर्डर क्षेत्रमा रहेको नागरिक नै सच्चा राष्ट्रवादी भएको दावी गर्नुभयो ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले नेपाल–भारतबीचको सम्बन्ध अझ सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दुवै देशका समस्या समाधान गर्न जनप्रतिनिधिले पहल गर्नुपर्ने र जनताको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
नेपाल भारत खुला सीमा संवाद समूह, रुपन्देहीका अध्यक्ष महेन्द्र गुप्ता (प्रशान्त)ले नेपाल भारतबीचको सम्बन्ध कुनै नेताले नै भइ जनताले बनाएको सम्बन्ध भएको बताउनुभयो । गोपाल सेवा समिति रुपन्देहीका अध्यक्ष भरथरी यादवले सीमा क्षेत्रकै नागरिकले सीमाको रक्षा गरिरहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको बताउनुभयो ।
नेपाल–भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले दुई देश मिलेर सीमामा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ग्रीन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले नेपाल आउने भारतीय सवारीसाधनलाई चेकिङको नाममा दुःख दिइएको बताउनुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य दिल बहादुर चौधरीले खुला सीमालाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल वैश्य युवा संघ, रुपन्देहीका कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ताले नेपालको प्रवेशद्वारमा चेकजाँच गरिसकेपछि ठाउँठाउँमा चेकजाँच गर्न नहुने बताउनुभयो ।कार्यक्रममा समाजसेवी आनन्द प्रसाद गुप्ता, नेपाल–भारत मैत्री संघका पूर्वअध्यक्ष मुरारीलाल अग्रवाल लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-०६-३० , समय : ११:११:२६ , ७ घन्टा अगाडि