रसुवामा आएको भीषण बाढीप्रति सिद्धार्थ सञ्जाल रुपन्देहीद्वारा दु:ख व्यक्त

रुपन्देही खबर , ४३  पटक हेरिएको

भैरहवा , भदौ ११

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति सिद्धार्थ सञ्जाल रुपन्देहीले गहिरो दुःख व्यक्त गरेको छ। सञ्जालले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मी बेपत्ता भएको र घर, बस्ती, सडक, पुल, विद्युत् तथा अन्य महत्वपूर्ण भौतिक संरचनामा गम्भीर क्षति पुगेको घटनाप्रति दुखित भएको जनाएको छ।

सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालिद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपदमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको तत्काल खोजी गरी सकुशल उद्धार गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायसँग आग्रह गरिएको छ।

विज्ञप्तिमा रसुवाको विपद् केवल एउटा जिल्लाको समस्या नभई राष्ट्रिय विपद्का रूपमा लिएर तत्काल उच्चस्तरीय समन्वयका साथ उद्धार, राहत, स्वास्थ्य उपचार, खाद्यान्न, खानेपानी तथा अस्थायी आवासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिएको छ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् आयोजना, सञ्चार तथा अन्य पूर्वाधारको तत्काल क्षति मूल्याङ्कन गरी पुनःस्थापना तथा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाउनुपर्नेमा पनि सञ्जालले जोड दिएको छ। यस्ता प्रकारका विपद् दोहोरिन नदिन हिमाली तथा नदी तटीय क्षेत्रमा दैविक जोखिम पहिचान, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने, जोखिमयुक्त बस्तीको पहिचान गर्ने तथा दीर्घकालीन विपद् व्यवस्थापनको ठोस योजना निर्माण गर्नेतर्फ सरकारको गम्भीर ध्यान जानुपर्ने विज्ञप्तिमा उल्लेख छ।

सिद्धार्थ सञ्जाल रुपन्देहीले विपद्को यस समयमा रसुवा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्य, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक सबै एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: २०२६-०८-२७ , समय : ११:३९:४६ , २१ मिनेटutes अगाडि