रोहिणी गाउँपालिकाद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण

रुपन्देही खबर , १४१  पटक हेरिएको

भैरहवा, असार २१

रुपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । २०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । उहाँले आगामी दिनमा पनि साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साईकल वितरण गरिएको हो, ’उहाँले भन्नुभयो ।


अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक र गाउँपालिकालाई मात्र दोष दिएर नहुने र सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले गाउँपालिका विद्यार्थीहरुको साथमा रहेको बताउनुभयो । शिक्षा शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले शिक्षा क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका लागिपरेको बताउनुभयो । श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले गाउँपालिकाले गरेको साईकल वितरण कार्यक्रमले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।

एसईईमा ३ दशमलव ६६ जीपीए ल्याउने छिपागढ माविकी विद्यार्थी अस्मिता यादवले गाउँपालिकाले साईकल वितरण गरेपछि आत्मबल बढेको भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो । गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
एसईईमा छिपागढ माविबाट ३ दशमलव ६६ जीपीए ल्याउने अस्मिता यादव गाउँपालिका प्रथम र पिपरहवा माविबाट ३ दशमलव ६५ जीपीए ल्याउने साधना यादव द्वितीय हुनुभएको छ ।

प्रकाशित मिति: २०२५-०७-०५ , समय : २१:४४:१९ , ७ घन्टा अगाडि